सुशान्त आत्महत्या प्रकरणमा नयाँ ट्वीस्ट : प्रेमीका रिया संलग्न रहेको आशंका

काठमाडौं । स्वर्गीय बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्यु प्रकरणमा उनकी प्रेमीका रिया चक्रवर्ती संलग्न भएको हुनसक्ने आशंका गरिएको छ ।

सुशान्तका बुबा केके सिंहले मंगलवार सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध पटनास्थित राजीव नगर प्रहरी वृत्तमा मुद्दा दायर गरेपछि घटनाले नयाँ मोड लिएको हो ।

केके सिंहले रिया र उनको परिवारका साथै अन्य ६ जनाविरुद्ध सुशान्तलाई आत्महत्या गर्न उक्साएको आरोप लगाउँदै मुद्दा दर्ता गरेका थिए ।

एफआईआरमा रियाले सुशान्तलाई प्रेममा फसाएर करोडौँ रुपैयाँ लुटेको, जबर्जस्ती पागल साबित गरी आत्महत्याका लागि उक्साएको आरोप लगाइएको छ । केके सिंहले मुद्दामा रियाले सुशान्तको १५ करोड रुपैयाँ ठगी गरेको पनि उल्लेख गरेका छन् ।

उनका अनुसार सुशान्तको बैंक खातामा १७ करोड रुपैयाँ भएकामा रियाले १५ करोड आफ्ना लागि खर्च गरेको बताइएको छ ।

साथै सुशान्तलाई रियाले धम्काउने गरेको आरोप पनि लगाइएको छ ।

दायर मुद्दाका अनुसार रियाले सुशान्तले आत्महत्या गर्नुपूर्व बान्द्रास्थित उनीहरू बस्ने फ्ल्याटबाट पैसा, कागजात, ल्यापटप, क्रेडिट कार्ड र सुशान्तको पासपोर्ट सुशान्तलाई थाहै नदिई लगेको आरोप छ ।

अभिनेता सुशान्तले गत जून १४ तारिखको राती दोश्रो प्रहरमा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?