काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले बसन्तपुर पुगेर ‘इनफ इज इनफ’ अभियानमा संलग्न युवाहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । नेताहरुले बसन्तपुर पुगेर आफुसँग भएका सम्झौता कार्यान्वयन गर्न माग राख्दै सत्याग्रहमा बसेका युवाहरुको अभियानमा समर्थन रहेको बताएका हुन ।
नेता प्रकाशमान सिंहले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी वातावारण कदम चाल्न नसकेको बताए । आम जनतामा असुरक्षाको वातावारण बढ्दै गएकाले सरकारलाई गम्भिर हुन सत्याग्रहीहरुको माग रहेको उनले बताए ।
कांग्रेसले संसद र पार्टीको केन्द्रीय समिति बैठकबाट समेत कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै आएको र अभियानमा संलग्न युवाहरुले स्वतन्त्र रुपमा उठाएका विषयहरु मेल खाएकाले पार्टीको समर्थन रहेको उनले बताए ।
नेपाल विद्यार्थी संघक पूर्व सभापति नैनसिंह महरले कुनै पनि समुदाय र वर्गबाट सरकारले गरेका गलत कामहरुको विरुद्धमा आवाज उठेमा त्यसको समर्थन कांग्रेसले गर्ने बताए ।
सिंह र महरसँगै कांग्रेस नेताहरु नवीन्द्रराज जोशी, रामहरी खतिवडा र काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्की लगायतको सहभागिता रहेको थियो । सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिवद्धता जनाएको थियो । आफुहरुसँग गरेका प्रतिवद्धताहरु पुरा नभएपछि अभियन्ताहरुले सत्याग्रह सुरु गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया