काठमाडौं उपत्यकामा मंगलवार थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ८ र स्टार अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा ललितपुरका एक जनामा गरि जम्मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज भेटिएका संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (मंगलवार) थप १५० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ९९४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ४७७ पुगेको छ ।

नेपालमा हिजो (सोमवार) १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?