काठमाडौं उपत्यकामा शुक्रवार थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा आज (शुक्रवार) थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा आज दुई जना भक्तपुर र एक जना काठमाडौंका रहेको जानकारी दिए ।

उनका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा आज काठमाडौंका एक जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा भक्तपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् । ललितपुरमा भने पछिल्लो २४ घण्टामा कोहि पनि संक्रमित थपिएका छैनन् ।

यसैबीच नेपालमा आज (शुक्रवार) थप १०१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ५३४ पुगेको छ ।

नेपालमा हिजो (बिहीवार) १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?