‘जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता’

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले प्राकृतिक विपत्तिबाट जनताको जीवन रक्षा गर्ने कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । । पोखरा महानगर तथा माछापुच्छ्रे गाउँपालिकाका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारणले पुर्याएको क्षतिको निरीक्षणपछि बिहीवार गाउँपालिकामा आयोजित कार्यक्रममा उनले सरकारले पहिलो प्राथमिकता जनताको जीउधनको सुरक्षा र उद्धार रहेको र त्यसपछि मात्र राहत, पुनःस्थापना तथा विकास निर्माणका कार्यलाई अघि बढाइने बताए ।

यस वर्ष समयमै वर्षा भएका कारणले जिल्लाका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उनले मृतकका परिवारलाई सङ्घ तथा प्रदेश सरकारबाट तत्कालै राहत रकम उपलब्ध गराइएको तथा घरबारविहीन भएकालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत ५० हजार रुपैयाँ बजेट उपलब्ध गराउने गरी विनियोजन गरिसकिएको जानकारी दिए। प्राकृतिक विपत्ति वर्षेनी झेलिरहने समस्या भएको उल्लेख गर्दै उनले भने, “सडक, खानेपानीलगायत विकास निर्माणका संरचनाले समेत प्राकृतिक विपत्तिको जोखिम बढाएको छ, वर्षा निरन्तर रहेकाले भिरालो जमिन, खोला नालाको नजिक तथा पहिराको जोखिम रहेका क्षेत्रका नागरिकलाइ विशेष चनाखो बन्न आग्रह गर्दछु ।”

कोभिड–१९ महामारी तथा रोकथामका लागि जारी बन्दाबन्दीबाट पूर्वाधार विकासका कार्यक्रम प्रभावित भए पनि कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको बताए । रातो किताबमा परेका योजनाको कार्यान्वयनका लागि सम्बन्धित उपभोक्ता तथा स्थानीय तह क्रियाशील हुनुपर्नेमा जोड दिँदै मन्त्री विश्वकर्माले भने, “रातो किताबमा परेका योजना कार्यान्वयनमा लैजान सक्रिय हुनुपर्छ ।”

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले कोरोना महामारीका कारणले गत वर्ष पालिकाले ७१ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिँदै निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ११ योजनामध्ये १० वटा सम्पन्न भएको बताए । प्राकृतिक विपत्तिबाट गाउँपालिकामा मानवीय क्षति नभए पनि पहिराले ग्रामीण सडक अवरुद्ध बनेको, खेतीयोग्य जमिन पुरेको तथा नदीले कटान गरेको तथा सिँचाइ नहर बगाएको अध्यक्ष गुरुङले जानकारी दिए । मन्त्री विश्वकर्माले गाउँपालिकामा सञ्चालित विभिन्न विकास आयोजनाको समेत अनुगमन तथा प्राकृतिक विपत्तिबाट भएको क्षतिको बारेमा स्थलगत निरीक्षण गरेका थिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?