काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएको बताएको छ । मन्त्रालयले संक्रमण दर कम भएकाले नै परीक्षण पनि कम भएको स्पष्ट पारेको छ ।
बिहीवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा दैनिक १० हजार बढी नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको बताए । हाल देशका विभिन्न २७ प्रयोगशालाबाट पीसीआर जाँच हुँदै आएको छ ।
गौतमले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ हजार जनाको नमुना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताए ।
यसले संक्रमण दर कम हुँदै गएको पुष्टि हुने बताए । तर संक्रमित कम भएपनि जोखिम भने कम नभएको उनले बताए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको नमुना परीक्षण भएको छ ।
यसैबीच नेपालमा आज (बिहीवार) थप १६७ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३४४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार २४९ पुगेको छ ।
नेपालमा हिजो (बुधवार) ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया