भानुभक्त आचार्यले नेपाली भाषा संस्कृति र राष्ट्रियतालाई एकसूत्रमा ल्याएः नेता केसी

काठमाडौं । पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भानुजयन्तीको अवसरमा श्रद्धासुमन अर्पण गर्दै आदिकवि भानुभक्त आचार्यको नेपाली साहित्य र राष्ट्रिय एकता सुदृढीकरणमा पुर्याएको योगदान स्मरण गरेका छन् ।

आचार्यले भाषाको माध्यमबाट राष्ट्रिय एकता सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको नेता केसीले बताए ।

पृथ्वीनारायण शाहले भूगोल एकिकरणमा योगदान दिएझैँ आचार्यले विश्वभर फैलिएको नेपाली भाषा संस्कृति र राष्ट्रियतालाई एकसूत्रमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले भने, “पृथ्वीनारायणले भूगोलद्वारा नेपालको एकीकरण गरे भने भानुभक्तले नेपाली भाषाद्वारा भानु (सूर्य) जस्तै व्यापक भएर संसारभर फैलिएको नेपाली भाषा संस्कृति र राष्ट्रियतालाई एकसूत्रमा ल्याए ।” 

नेता केसीले भानु जयन्तीको अवसरमा सामाजिक सञ्जालमा लेखेका छनः 

आदिकवि भानुभक्तप्रति कृतज्ञतापूर्वक श्रद्धासुमन !

भोलि २९ असार, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती । भानुभक्तलाई न्वारानको नाम ‘देवीभक्त’ भनेर कसैले चिन्दैन । भानुभक्त आदिकविमात्र नभै भाषाद्वारा नेपाली राष्ट्रिय एकता सुदृढ गराउने महत्वपूर्ण व्यक्तिको नाम पनि भएको छ । भाषागत नेपाली राष्ट्रियता नेपालको भौगोलिक सीमा पार गरेर संसारभर व्यापक छ ।

पृथ्वीनारायणले भूगोलद्वारा नेपालको एकीकरण गरे भने भानुभक्तले नेपाली भाषाद्वारा भानु (सूर्य) जस्तै व्यापक भएर संसारभर फैलिएको नेपाली भाषा संस्कृति र राष्ट्रियतालाई एकसूत्रमा ल्याए ।

भानुभक्तीय रामायणको बालकाण्ड (बि.सं. १९४१) प्रकाशित गर्दा मोतीराम भट्टले ‘प्राचीन कवि’ भनेका थिए । कसैले आदि प्रतिनिधि कवि’ भन्ने तर्क पनि राखे । विगतमा जेहोस्, भानुभक्तलाई आदिकवि मान्ने विषयमा संसारभरिका नेपालीहरुमा दुईमत छैन । भानुभक्तकाे योगदान र महत्व लाई प्रथमत चिनाउने श्रेय मोतीराम लाई नै दिनुपर्छ।

महान योगदान दिएका इतिहास पुरुषहरूको प्रेरणा स्रोत सामान्य मानिस नै हुनेगर्छन् । भानुभक्तका प्रेरणा स्रोत मानिएका पनि घाँसी चामुनारायण पन्थ हुन् । उनै घाँसीको प्रेरणाले, संस्कृत साहित्यका विद्वान तथा कवि भानुभक्तले संस्कृतका आदिकवि बाल्मिकीले लेखेको रामायणलाई नेपाली भाषामा श्लोकबद्ध रुपमा अनुवाद गरी तत्कालीन युगमा असाधारण हलचल ल्याए, यसकारण कि त्यो जमानामा संस्कृतको विद्वान भएर नेपालीमा कविता लेख्नुलाई उपहास र अपमानको विषय बनाइन्थ्यो।

घाँसीबाट प्रेरणा लिएका भानुभक्तले ‘नाम क्यै रहोस् भनेर’ नेपाली भाषामा आफ्ना कृति लेख्नथालेको पाईन्छ, जो आज नेपाली भाषा र संस्कृतिको राष्ट्रिय एकताको सूत्र बनेको छ ।

जसरी अँग्रेजीका आदिकवि जियोफ्रे चउसर (Geoffrey Chaucer), हिन्दीका आदिकवि अमीर खुसरो, संस्कृत का आदिकवि बाल्मिकी भनिन्छ, त्यसैगरी भानुभक्त नेपालका मात्र नभै विश्वका समस्त नेपालीहरुबीच भाषागत एकताका सूत्र र विभूति एवं साझा निधि हुन् ।

ती कालजयी महान व्यक्तित्वलाई यस पुनीत अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । साथै हामी नेपाली जहाँ जसरी रहेबसे पनि यस दिवसबाट हामीले राष्ट्रिय भाषा र संस्कृतिको जगेर्ना गर्दै आपसमा भातृत्व एवं आत्मीयता उत्तरोत्तर बढाउँदै लैजाने प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?