बढ्यो जोखिम : काठमाडौं उपत्यकामा एकैदिन ४२ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा आज (शुक्रवार) एकैपटक ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवत्तला प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा आज एकैपटक ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

आज उपत्यकामा कोरोना संक्रमण पुष्टि भएकोमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमामाडौंका एक जना, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १५ जना, ललितपुरका १३ जना र भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १२ जनामा गरेर आज उपत्यकामा एकैपटक ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्य मन्त्रालयले बताएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (शुक्रवार) थप ११८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ ।

नेपालमा हिजो (बिहीवार) १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?