कोरोनाको कहर : रातो मछिन्द्रनाथको रथारोहण रोक्न ‘चिठ्ठी’ गयो

काठमाडौं – उपत्यकामा कोरोना भाईरस ‘कोभिड – १९’ को संक्रमण तिव्र रुपमा फैलिन थालेपछि अन्तत रातो मछिन्द्रनाथको रथारोहण स्थगित गरिएको छ।

आगामी असार २४ गते पाटनको तबहालको सत्तलमा राखिएको मछिन्द्रनाथलाई पुल्चोकमा बनाइएको रथमा रथारोहण गराउने कार्यक्रम तय भएकोमा काठमाडौं लगायत भक्तपुर र ललितपुरमा संक्रमितको संख्या तिव्र रुपमा फैलिएपछि तय भएको कार्यक्रम स्थगित भएको हो ।

हिजो एकैदिन उपत्यकामा मात्रै ५४ जनामा संक्रमण पुष्टि भएको थियो । रातो मछिन्द्रनाथको रथारोहणमा हुने मानिसहरुको भिडभाड र कोरोना फेलनसक्ने स्थितीलाई मध्येनजर गर्दै यस विषयमा छलफल गर्न मंगलवार जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र सरोकारवाला पक्षबीच बैठक भएको थियो । बैठकले हाललाई रथ निर्माण रोक्ने र रथारोहण पनि स्थगित गर्ने निर्णय गरेको हो।

गत असार १ गतेदेखि सरकारले लकडाउन परिमार्जन गरेर खुकुलो बनाएको छ । जसअनुसार जोर बिजोर प्रणालीमा सवारीसाधन गुडीरहेका छन् । मानिसहरुको उपस्थिती बाक्लो छ । घरबाहिर निस्कनेहरु बढेका छन् । भिडभाड बाक्लिन थालेको छ । यस्तो अवस्थामा संक्रमण तिव्र बढ्नुले झनै त्रास सिर्जना गरेको छ । स्वास्थ्य मन्त्रालयले भौतिक दूरी कायम गर्न, मास्क लगाउन र साबुनपानीले बारम्बार हात धुने वा सम्भव नभए सेनिटाईजरको प्रयोग गर्न अनुरोध गरीरहेको छ ।

घना बस्ती भएका शहरमा यसरी संक्रमित बढेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जनस्वास्थ्यविद् र विज्ञहरुले केहि समय उपत्यकामा लकडाउन गर्न समेत सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?