नेकपा स्थायी कमिटीको बैठक चलिरहेकै बेला पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरिएको छ । नेकपा केन्द्रीय सदस्य दिलु पन्तले पछिल्लो राजनीति अवस्थाका साथै पार्टीका विभिन्न विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउन हस्ताक्षर सुरु गरिएको बताइन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सांकेतिक धर्ना दिइरहेका केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउन लागि हस्ताक्षर अभियान सुरु गरेका हुन् । पार्टीलाई विधि, पद्धति र विधानअनुसार सञ्चालन गर्नुपर्ने, पार्टी विभाजन रोक्नुपर्नेलगायतका मागसहित विगत दुई दिनदेखि केन्द्रीय कार्यालयमा सांकेतिक धर्ना दिइरहेका केन्द्रीय सदस्यले अब सबै विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठकको आवश्यकता रहेको जनाएका छन् ।
विधानअनुसार पार्टी सचिवालय, स्थायी कमिटीले कुनै पनि निर्णय गरे पनि त्यसको अनुमोदन केन्द्रीय कमिटीको बैठकबाट गराउनुपर्छ । पार्टीभित्र विभाजनको खतरा बढ्दै गए पछि केन्द्रीय सदस्यले हस्ताक्षर अभियान सञ्चालन गरेर नेतृत्वलाई दबाब दिएका हुन् । राजधानी दैनिकमा खबर छ ।
यसैबीच पार्टी एकतालाई बचाउन प्रभावकारी भूमिका खेल्न नेकपाको प्रवासी कमिटीले अध्यक्षद्वय ओली र दाहाललाई आग्रह गरेको छ । ३५ देशमा रहेका प्रवासी कमिटीका अध्यक्ष र सचिवहरुले प्रवास समन्वय कमिटीमार्फत ध्यानकर्षण गराउँदै पार्टीलाई फुटबाट जोगाउन माग गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया