काठमाडौं । लामो समयपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटि बैठक चलिरहेको छ ।
गत असार १० गतेबाट शुरु भएको बैठकले पहिलो दिन विभिन्न एजेण्डाहरु तय गर्यो । नेपाल भारत सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) देखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गर्नुपर्ने पहलका विषयमा समेत छलफल गर्न एजेण्डा तय गरिएकोमा बैठकको चौथो दिन आइपुग्दा पार्टीभित्रको विवाद छताछुल्ल भएको छ ।
त्यसैमाथि तेस्रो बैठकको भोलिपल्ट जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भारतले आफ्नो कुर्सी हल्लाउन चाहेको तर त्यो प्रयास निरर्थक हुने अभिव्यक्ति दिएपछि मुर्मुरिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौथो बैठकको शुरुमै यहि विषयमा असन्तुष्टि राख्दै भने, “तपाई अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्नुस् भारतले होइन मैले भन्या हुँ ।”
पछिल्लो समय दुइ अध्यक्षबीचको दोषारोपणको श्रृङखला चलिरहेको छ । त्यसमाथि चौथो बैठकमा भारतले प्रधानमन्त्रीको कुर्सी हल्लाउन चाहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रश्न खडा गर्दै प्रचण्डले प्रमाण मागेपछि वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य वामदेब गौतमले साथ दिएका थिए । चौथो बैठक यो भनाभनमा मात्रै टुंगिएन, अर्काे विषयले प्रवेश पायो- नेकपा एमाले दल दर्ता ।
पूर्व नेकपा एमाले तर्फबाट झापाकी सन्ध्या तिवारी लगायत अन्यले एमाले दल दर्ताका लागि निवेदन दिएका थिए । जननेता मदन भण्डारीको जन्मजयन्तीको दिन पारेर १४ गते निर्वाचन आयोगमा नेकपा (एमाले) पार्टी दर्ता भएको भन्ने विषयमा स्थायी कमिटिमा खैलाबैला भएको थियो । यद्यपी लोकपथलाई प्राप्त जानकारी अनुसार दल दर्ताको निवेदन परेको तर विभिन्न प्रावधानहरु पुरा गर्नुपरेकोले दल दर्ता भइनसकेको तर निवेदन भने परेको छ ।
को हो नेकपा (एमाले) दल दर्ता गर्ने ?
तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ साल जेठ ३ गते एकीकरण भएपछि नेकपा (एमाले) नाममा निर्वाचन आयोगमा कुनै पनि दल दर्ता थिएन ।
प्राप्त जानकारी अनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन परेको दलको अध्यक्षमा झापाकी सन्ध्या तिवारी र महासचिवमा मनिषकुमार उपाध्याय, कार्य समितिमा २४ सदस्यीय कमिटि रहेको एमालेको ५ सय ७२ सदस्य रहेको सूची पनि आयोगमा प्रक्रियाका लागि निवेदनसहित पुगेको छ ।
नेकपा (एमाले) नाम प्रस्ताव गरेर निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेको निवेदनमा दलको झण्डा हँसिया९हतौडा अंकित छ भने उदाउँदो सूर्य चुनाव चिन्हको रुपमा राखिएको छ ।
पार्टीको सदस्यहरुमा पूर्व एमाले निकट विद्यार्थी संगठनमा रहेकाहरु मात्रै छन् । पार्टीको सबै प्रक्रिया पूरा भएपछि मात्रै औपचारिक रुपमा सार्वजनिक हुने कार्यक्रम रहेको लोकपथलाई जानकारी प्राप्त भएको छ । यसैबीच निर्वाचन आयोगले दर्ताका लागि निवेदन परेको र विभिन्न प्रावधान पूरा गर्नुपर्ने हुँदा अहिले नै दर्ता भएको भन्न नमिल्ने बताएको छ ।
आज बिहान स्थायी कमिटि बैठक बस्नु अघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए जुन कुरालाई महत्वका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया