उपत्यका भित्रिन दिने निर्णय, तर मान्नुपर्नेछ यो नियम !

काठमाडौं – कोरोना भाईरस ‘कोभिड-१९’ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आए र होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता भएमात्रै उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको हो ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढीरहेको छ । दैनिक ५०० हाराहारीमा संक्रमित बढीरहेका छन् भने मृतक पनि थपिईरहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भई आइसियुमा उपचाररत उनको १३ गते स्वाब संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो ।

१३ गते बेलुकी नै उनको मृत्यु भएको थियो । उनको हिजोमात्रै कोरोनाको रिपोर्ट आएको थियो । तीन महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिनन अस्पतालमा उनी उपचारका लागि गएको प्रवक्ता डा. गौतमले बताए । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

सोमबार नेपालमा ४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १ सय १३ महिला र ३ सय ६६ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमा महिला १ हजार ५ सय ८६ महिला र ११ हजार ६ सय ६२ जना पुरुष छन् । नेपालमा हिजो ९सोमवार० ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा कोरोना संक्रमणको जोखिम झनै बढेको छ ।

यसैगरी बितेको २४ घण्टामा १३ महिला र १ सय ८ पुरुष गरी १ सय २१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ सय ६६ महिला र २ हजार ८ सय ६६ पुरुष गरी ३ हजार १ सय ३४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंका दुई महिला र चार पुरुषमा कोरोना पुष्टि :
काठमाडौंका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा काठमाडौंका दुई महिला तथा दुई पुरुष, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुष र त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंकै एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रवक्ता गौतमका अनुसार आज काठमाडौंमा ४ पुरुष र दुई महिला गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ललितपुरका एक जनालाई कोरोना संक्रमण :
ललितपुरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा ललितपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ललितपुरमा भेटिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको निगरानीमा रहेको बताएका छन् ।

भक्तपुरका एक पुरुषमा कोरोना पुष्टि

भक्तपुरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भक्तपुरका एक जनामा आज कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणका क्रममा भक्तपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।प्रवक्ता गौतमले आज भक्तपुरमा भेटिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको निगरानीमा रहेको बताएका छन् ।

मन्त्रालयको यस्तो अनुरोध
काठमाडौं तथा घना बस्ती भएका ठाउँमा कोरोना भाइरस ‘कोभिड – १९’ को जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यका तथा घना बस्ती भएको ठाउँहरुमा जाँदा २ मिटरको दूरी कायम गर्न, मास्क लगाउन, सावुन पानीले हाल धुन तथा वृद्ध वृद्धाहरुलाई सतर्क रहन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले काठमाडौं उपत्यका लगायत घनाबस्तीहरुमा कोरोनाको जोखिम बढिरहेको उल्लेख गर्दै सामाजिक दुरी कायम गर्दै अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ । अहिले सडकहरुमा हिडडुल गर्नेहरुको भिड बढेको, विवाह व्रतबन्धहरुमा भोज भतेर गरेर भिडभाड भएको कुराहरु देखिन थालेको प्रति मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । साथै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन समेत मन्त्रालयले आग्रह गरेको छ ।सोमवारको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मानिसहरुले हेलचेक्रयाई गरेकाले पाइएकाले मन्त्रालयले त्यस्तो आग्रह गरेको बताए ।

सोमबार थपिएका ४७६ जना संक्रमितमध्ये काठमाडौंका ६, ललितपुरका १ र भक्तपुर १ जना रहेका छन्। लामो समय लकडाउन गुजारेर सामान्य जीवनमा फर्कने अभ्यास गर्दा अत्याधिक भिडभाड हुने ठाउँहरुमा संक्रमण तिव्र रुपमा फैलिन थालेपछि जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले सबैको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?