काठमाडौं – नेपालमा हिजो (सोमबार) थप ५ सय ३५ जना कोरोना भाईरस ‘कोभिड – १९’ का संक्रमित थपिएसँगै कोरोना संक्रमितको कुल संख्या ९ हजार ५ सय ६१ पुगेको छ। जसमध्ये ८९४ जना महिला छन् भने ८ हजार ६ सय ६७ जना पुरुष छन् । यस हिसाबले नेपालका कुल संक्रमितमध्ये ९१ प्रतिशत पुरुष संक्रमित रहेका छन् । ९ प्रतिशत महिला ।
नेपालमा हालसम्म २ महिने शिशुदेखी ८४ वर्षिय वृद्धासम्मलाई कोरोना पुष्टि भएको छ ।
कुन उमेर समूह सबैभन्दा धेरै प्रभावित ?
जन्मेदेखी १० वर्ष उमेर समूहका २६६ जना
११ देखि २० वर्ष उमेर समूहका २ हजार २ सय ९६ जना
२१ देखि ३० वर्ष उमेर समूहका ३ हजार ६ सय ५० जना
३३ देखि ४० वर्ष उमेर समूहका २ हजार ६२ जना
४१ वर्ष उमेर समूहदेखि ५० वर्ष उमेर समूहसम्मका ८८१ जना
५१ देखि ६० वर्ष उमेर समूहका ३०८ जना
६१ देखि ७० वर्ष उमेर समूहका ७४ जना
७१ देखि ८० वर्ष उमेर समूहका १९ जना
८० देखि माथिका ५ जना
यसरी हेर्दा सबैभन्दा धेरै प्रभावित २१ देखि ३० वर्ष उमेर समूहका छन् । यो संख्या ३ हजार ६ सय ५० जना छन् ।

यसलाई समग्रतामा हेर्दा ११ वर्षदेखि ४० वर्ष उमेर समूहका मानिसमा धेरै संक्रमण देखिन्छ । यो उमेर समूहभित्र पर्ने कुल ८ हजार ८ जना संक्रमित छन् ।
कोरोना नदेखिएको नेपालको एउटै जिल्ला – रसुवा
नेपालका ७७ मध्ये ७६ वटा जिल्लामा कोरोना भाईरस ‘कोभिड – १९’ को संक्रमण फैलिएको छ । वाग्मती प्रदेशमा पर्ने रसुवामा हालसम्म यो संक्रमण देखिएको छैन । कम जनसंख्या भएकाले चुस्त व्यवस्थापन गर्न सकिएको प्रमुख जिल्ला अधिकारी बताउँछन् । जिल्लाभरको जनसंख्या ५० हजारको हाराहारी मात्रै छ। चीनमा संक्रमण फैलिँदा नै रसुवागढी नाका बन्द गरिएको थियो। यसले पनि कोरोना भित्रन पाएन । यद्यपी त्यहाँ क्वारेनटाईन निर्माण लगायतका तयारी गरिएको छ ।
नेपालमा लकडाउन खुकुलो भएपछि डब्लुएचओको यस्तो अपिल :
विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले ‘कोभिड – १९’ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि ‘कोभिड – १९’ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन् । लकडाउन खुकुलो बनाएसंगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय संञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आ आफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताए ।
उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औल्याए । उनले मानिसहरुको भीडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन पनि आग्रह गरे ।
उनले भने “लकडाउन हामी सबैका लागि गार्हो कुरा थियो । घर मा नै बस्नुपर्यो । साथी भाईलाई भेट्न पाईएन । काममा जान पाईएन । अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौ । काममा जान पाएका छौ । नातेदार परिवारहरुलाई भट्न जान पाइरहेका छौ । तर हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गईसकेको छैन ।
महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौ तसर्थ हामी अलि होसियार हुनु जरुरी छ । हामीले आफैले केही कदमहरु चाल्नु जरुरी छ । ताकी यो संक्रमणलाई नियन्त्रण गर्न सकियोस् । हामीले चाल्न सक्ने कदमहरु भनेको एक अर्कासंग भौतिक दुरी कायम गर्ने, मास्क लगाउने । कपडा कै भए पनि हुन्छ । विशेष गरी धेरै मानिसहरु भएको अवस्थामा अनिवार्य रुपमा मास्क लगाउने । त्यसैगरी साबुन पानीले बारम्बार हात हुने किनभने संक्रमित व्यक्तिलाई तपाईले छुनु भएको छ भने त्यो हातमा सर्छ र तपाईको हातले मुखलाई, नाकलाई छुँदा त्यहाँबाट भाइरस तपाईको शरिरमा प्रवेश गर्छ । त्यसैगरी खोक्दा मुख छोप्ने ।
साथै ज्वरो, खोकी वा कुनै पनि किसिमको विसन्चो भयो भने तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउने । यी कुराहरु तपाईहरुले गरे भने भाइरस थप फैलिन पाउदैन र भाइरस मर्छ । भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय थियो भने अबको अर्को उपाय भनेको हामीले यी नियमहरु पलना गर्नु नै हो । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया