काठमाडौं – तीन दिनदेखि परेको लगातारको वर्षाले सन्धिखर्क गोरूसिंगे सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि बुटवलबाट सन्धिखर्क जाने र बुटवल, कपिलबस्तु आउने सवारी रोकिएका छन् । यात्रु अलपत्र छन् ।
शितगंगा नगरपालिकाको शितापुर आसपासमा सडक अवरूद्व भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।
लगातार वर्षा भईरहेकाले पहिरो हटाउने काम चलेपनि तत्कालका लागि यात्रा नगर्न प्रजिअ पौडेलले आग्रह गरे ।
उता गए रातिदेखि परेको अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध बनेको छ ।
आज बिहान पहिरो गएको हो ।
पहिरोका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीका अनुसार अहिले पहिरो हटाएर लोकमार्ग सञ्चालन गर्ने काम भईरहेको छ ।
“स्काभेटरले पहिरो हटाउँदैछ”, प्रहरी निरिक्षक सुवेदीले भने, “वर्षा नरोकिएकाले पहिरो खस्ने क्रम जारी हुँदा समस्या भएको छ ।” पहिरोका कारण बिहानदेखि सडक अवरुद्ध भएको हो । यसैगरी पहिरोका कारण कुश्मा बागलुङ ३३ केभि लाइन पनि अवरुद्ध बनेको छ ।
पहिरोले प्रसारण लाइनमा क्षति पुराउँदा विद्युत् सेवा बागलुङ र म्याग्दी जिल्लामा अवरुद्ध बनेको हो ।
विद्युत् प्रसारणलाई सुचारु गर्नका लागि काम भइरहेको विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ । पहिरोका कारण अन्य मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ । रासस
pic : file
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया