संविधान संशोधनको पक्षमा मतदान गर्न समर्थन गर्दै यसो भने कांग्रेस सभापति देउवाले

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रिय हितको सबालमा सबै नेपाली फेरीपनि एक भएको बताएका छन् ।

प्रतिनिधिसभाको शनिवारको बैठकमा बोल्दै सभापति देउवाले गुमेको भूमि फिर्ता ल्याउन सरकारलाई सबै नेपाली नागरिकले साथ दिएको बताए । उनले नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलले समेत संविधानमा नक्सा संशोधनका लागि पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको बताए । त्यस्तै सबै पार्टीको समर्थन देखिएको र यसले राष्ट्रिय एकता, सार्वभौंमिकता र राष्ट्रिय अखण्डतामा सबै नेपाली एक छौं भन्ने स्पस्ट भएको बताए । उनले भन्नुभयो ‘हाम्रो पार्टीले केन्द्रीय समितिले पनि संशोधन प्रस्तावमा सपोर्ट गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकले सम्पूर्ण सदस्यहरुले कुनैपनि किसिमको नेपालको आफ्नो भूमिकाका सम्बन्धमा सम्पूर्ण रुपमा सपोर्ट गरेको छ । र आजै भोट गर्नुभन्दा अगाडि संसदीय दलको मिटिङमा पनि हामीले समर्थन गर्ने निर्णय गरेका छौं । त्यसकारण यो संशोधन प्रस्तावलाई हाम्रो केन्द्रीय समितिले पूर्णरुपमा समर्थन गरेको छ भने संसदीय दलले पनि पूर्णरुपमा समर्थन गरेको छ । सबै पार्टीहरुको यसमा समर्थन देखियो । यो हाम्रो नेपालीहरुको राष्ट्रिय एकता नेपालको हितमा देखिएको छ । अत्यन्तै महत्वपूर्ण कुरा छ । नेपालीहरु जुनसुकै ठाउँमा किन नहुन राष्ट्रिय हितका लागि राष्ट्रको सार्वभौंमताका लागि राष्ट्रको अखण्डताका लागि सबै एक छौं भन्ने कुरा स्पस्ट भएको छ । त्यसैले म सबैदलका साथिहरुलाई धन्यवाद दिन चाहन्छु ।

उनले नक्सा पारित गर्न एक भएजस्तै भूमि फिर्ता ल्याउन पनि सम्पूर्ण नेपालीहरु एक हुने बताए । उनले कुटनीतिक प्रयासबाट भूमि फिर्ता ल्याउन कांग्रेसले विपक्षी दलको हैसियतामा सहयोग गर्ने स्पस्ट पारे । उनले भन्नुभयो ‘म धेरै कुरा नभनिकन यो सम्पूर्ण नेपालीहरु एक भएको र अत्यन्तै महत्वको कुरा हो । यसमा हामी सम्पूर्ण नेपालीहरुको सहयोग छ । भोलिको दिनमा पनि कुटनीतिक प्रयासबाट फिर्ता ल्याउने कुरामा हाम्रो पार्टीले विपक्षीको भूमिकाका साथै विपक्षी दलको हैसियतले हाम्रो तर्फबट सपोर्ट हुने जानकारी गराउन चाहन्छु ।’

उनले सुगौलीको सन्धी १८१६ अनुसार कालीदेखि पूर्वको भूभाग नेपालको भएको स्पष्ट भएको समेत बताए । यस्तै अंग्रेजले छापेको नक्सामा पनि कालीनदी भनिएको र चाइनिजमा पनि कुटियाङ्दी भन्ने शब्द रहेको र तयसको अर्थ पनि काली नदी भनने नै रहेकाले काली नदी भन्दा पूर्वको भूभाग नेपालको हो भन्ने स्पस्ट भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?