दुई पसलमा सिलबन्दी

म्याग्दी । बजार अनुगमन टोलीले बेनीबजारमा दर्ताको उद्देश्य विपरीत सञ्चालित दुईवटा पसलमा सिलबन्दी गरी बन्द गराएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार न्यूरोडको करुणा खाद्यान्न र क्याम्पसचोकको झिङ्खानी मासु पसल बन्द गराइएको हो ।

अनुगमनका क्रममा सो खाद्यान्न पसलका सञ्चालकले खाद्यान्न सामग्रीको उद्देश्य राखेर दर्ता गरेको पसलमा पूजा र शृङ्गारका सामग्री बिक्री गरेको र मासु पसलका सञ्चालकले मासु पसल भनेर दर्ता गरेकामा एकै ठाउँमा खाद्यान्न सामग्री पनि बिक्री गरेको पाइएको कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए।

ती पसलका सञ्चालकलाई उद्देश्यअनुसार सञ्चालन गर्न अथवा उद्देश्य थप र मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ । निर्देशन पालना गरेपछि मात्र पसल खुलाउन पाउने भएका छन् । हुलाकचोकबाट क्याम्पसचोकसम्मका खाद्यान्न पसलको अनुगमन गरिएको थियो । जिल्ला प्रशासन, प्रहरी, बेनी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको बजार अनुगमनमा सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तु बरामद गरेर नष्ट समेत गरिएको छ । यसअघि नमूनाको रूपमा थोरै सङ्ख्यामा पसलहरुको अनुगमन हुने गरेको थियो । सोमबार भने सबै पसलहरुको क्रमशः अनुगमन गरिएको थियो । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको समयमा कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी हुनसक्ने भएकाले स्थानीय प्रशासन र सम्बद्ध कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?