टेकु अस्पतालले परीक्षण नै नगरी कोरोना नभएको प्रमाणपत्र दिने गरेको खुलासा

नुवाकोट शीतलबेसीकी सुनिता कार्की ८ महिनाकी गर्भवती छिन् । नियमित परीक्षण गराउन शुक्रबार काठमाडौं आइपुगिन् ।

बाटैबाट चाबहिलस्थित घरबेटीलाई फोन गरिन् । ‘घरमा आउन त आऊ तर, टेकुमा कोरोना परीक्षण गरेर मात्रै आऊ’ भनेपछि कोठामा नगई उनी सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपाल पुगिन् ।

उनको साथमा बहिनी पनि थिइन् । दुवैले लाइन लागेर चिकित्सकलाई भेटे । ‘किन आउनुभएको’ भन्ने चिकित्सकको प्रश्नमा उनले घरबेटीले कोरोना परीक्षण गरेर आउनु भनेकोले आएको बताइन् । चिकित्सकले ‘विदेश, नेपालगन्ज, तराईका जिल्ला, उदयरपुर कहीँ जानुभएको छ, विदेशबाट आउनेको सम्पर्कमा हुनुहुन्छ, ज्वरो, खोकी छ कि छैन’ भनेर सोधे । उनले जवाफमा नाइ र छैन मात्रै फर्काइन् ।
सुनिताले सोचेकी थिइन् अब रगत र र्‍याल पनि परीक्षण हुन्छ होला, त्यही रिपोर्ट लिएर घरबेटीलाई देखाउँछु । अस्पतालले उनको न त रगत परीक्षण गर्‍यो, न त स्वाब नै । सुनिताले दिएको जवाफकै आधारमा चिकित्सकले उनमा कोरोनाको लक्षण नभएको भन्दै लेखेर पठाइदिए । यहाँका चिकित्सकहरुले परीक्षण गर्न आउनेहरुसँग परामर्श गरेर यात्रा विवरण र भेटघाटको आधारमा कोरोनाको लक्षण भए–नभएको लेखेर पठाइदिने गरेका छन् ।कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?