लकडाउनमै योजना सक्ने तयारीमा बरेङ गाउँपालिका

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । देश लकडाउन भएपछि विकास निर्माणका काम धेरैजसो प्रवाभित भएका छन् ।

आर्थिक वर्ष सकिन लाग्दासम्म कोरोना सङ्कटको सकस अनिश्चिततातर्फ उन्मुख हुँदा विकासका कामका लागि विनियोजित अधिकांश योजनाका बजेट फ्रिज हुने अवस्थामा देखिन्छ । आवको अन्त्यमा विकास निर्माणका कामलाई तीव्रता दिने पुरानो परम्परा तोडिनै लागेका बेला कारोनाका कारण विकास निर्माणपछि धकेलिएको छ ।

अहिले बागलुङ जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले यस वर्ष आधा काम सक्न पनि धौधौ हुने अवस्थामा बरेङ गाउँपालिकाले भने लकडाउनमै धेरै विकास निर्माणका काम गर्दै आएको छ । गाउँपालिकाले देशमा जारी कोरोना सङ्कट र लकडाउनकै बीच विभिन्न योजनाका काम धमाधम गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यो आवका अधिकांश योजना फरफारक गर्नेतर्फ लागेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार यो आवका योजना तथा विकास निर्माणका काम ८५ प्रतिशत सम्पन्न भएको छ । गाउँपालिकाका सबै योजना अन्तिम चरणमा रहे पनि केन्द्रीय तथा प्रदेशका योजनाहरुको काम बाँकी नै छ ।

असार मसान्तसम्म केन्द्रीय तथा प्रदेश सरकारका बजेटको काम बाँकी रहे पनि गाउँपालिकाका सबै योजना फरफारक हुने अवस्थामा पुगेको गाउँपालिकालका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । चैत मसान्तसम्ममा गाउँपालिकाका सबै योजना सक्ने लक्ष्य रहे पनि लकडाउनका कारण सम्पन्न गर्न थोरै ढिला भएको उनको भनाइ छ । थापाका अनुसार लकडाउनकै बीचमा समेत गाउँपालिकाका योजनाहरु अगाडि बढेका छन् ।

उनले अहिले श्रमिकहरुका बीचमा सामाजिक दूरी कामय गरेर सडक विस्तारलगायत विकासका पूर्वाधारका काम भइरहेको जानकारी दिए । “हामीले पालिकाको सबै आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्ने गरी योजना बनाएका थियौँ, लकडाउनका कारण केही ढिला हुनपुगेको छ”, उनले भने, “अहिले सुरक्षित र सामाजिक दूरी कामय गरेरै विकास निर्माणका काम अगाडि बढाएका छौँ ।” थापाले प्रदेश र केन्द्र सरकारबाट आउने बजेटको योजनाका कामहरु असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी अगाडि बढेको बताए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?