खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ऐसेलुखर्ककी ८० वर्षीया एकल महिला हीरामाया राईलाई स्थानीय खामाखा खार्चुम समाजमा आवद्ध छिमेकी युवाले घर बनाइदिएका छन् ।
लट्ठीको सहारामा मात्र हिँडडुल गर्न सक्ने भूकम्पपीडित हीरामायाले नयाँ घर निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट अनुदान पाए पनि जनशक्ति अभावमा घर बनाउन नसकेर बिचल्लीमा परेपछि समाजमा आबद्ध छिमेकी युवाले श्रमदान जुटाएर घर निर्माण गरिदिएका हुन् ।
विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति भएको घर पुनःनिर्माण गर्न प्राधिकरणबाट अनुदानवापतको रकम लिए पनि जनशक्ति अभावमा भूकम्प प्रतिरोधी घर निर्माणको काम गर्न नसकेकी हीरामायालाई श्रमदान गरेर नयाँ घर निर्माण गरिदिइएको समाजका सचिव नवीन राईले बताए।
“उमेरले आफैँ डाँडामाथिको घामजस्तै अवस्थामा पुग्नुभएकी हीरामायाले जस्तापाता खरिद गर्ने र आवश्यक काठपात तयार पार्नेबाहेक घर निर्माणका अन्य काम गर्न सक्नुभएन”, उनले भने, “बालबच्चासमेत नजन्माउनुभएकी हीरामायालाई ओत लाग्ने ठाउँको व्यवस्था मिलाउन श्रमदान गरेर भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएका हौँ ।”
हीरामायाको घर निर्माण गर्न सहभागी छिमेकी युवाले जस्तापाता ओसार्ने, जङ्गलबाट काठपात ओसार्ने, छाना हाल्नेदेखि घर वरपर सरसफाइ गर्नेलगायतका काममा श्रमदान गरेका थिए ।
प्राधिकरणबाट अनुदानवापत आएको रकम हीरामायाकै लागि बचत गरिदिन उनको घर निर्माणमा सहभागी सबै युवाले आ–आफ्नै घरको खाना तथा खाजा खाएर निःशुल्क श्रमदान गरिएको समाजका सचिव राईले बताए ।
जस्तापाताको छाना हालेर चिटिक्क पारिएको हीरामायाको घर वरपर लामो समयदेखि थुप्रिएको फोहरसमेत सरसफाइ गरिएको समाजले जनाएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनका बीचमा पनि समाजमा आवद्ध छिमेकीले श्रमदान गरेर घर निर्माण गरिदिएपछि बेसहारा जीवन बिताइरहेकी हीरामायासमेत हर्षित भएकी छन् ।
असहाय वृद्धालाई मानवीय हिसाबले निःस्वार्थभावले सहयोग गरेकामा नगर उपप्रमुख विमला राईले सामाजिक सञ्जाल फेसबुकमार्फत छिमेकी अगुवालाई धन्यवाद दिएकी छन् ।
“मानवता हराएको मेरो देश र गैरजिम्मेवार नागरिक भनेर यदाकदा बोलिने शब्दहरु आज गलत सावित भएको छ”, उनले लेखेको स्टाटसमा भनिएको छ, “उहाँलाई सहयोग गर्ने छिमेकी उदाहरणीय पात्र हुनुहुन्छ, साह्रै खुशी लाग्यो !संयोगले मलाई पनि एकछिन आमाको खुशीको मुहार हेर्ने अवसर मिल्यो ।”
विसं १९९६ मा जन्मिएकी हीरामायाको घर पुनःनिर्माणमा समाजका सचिव नवीनसँगै श्यामचन्द्र राई, आशिष राई, देविका राईलगायत छिमेकी युवाले निःशुल्क सहयोग गरेको जनाइएको छ । श्रमदानमा घर निर्माण गरिदिएका उनीहरुले हीरामायाको घरमा पहिलोपटक विद्युत्समेत जडान गरिदिएका छन् ।
गाउँमा विद्युत् विस्तार भएको सात वर्षसम्म अन्धकारमा बस्दै आएकी हीरामायाको घरमा समाजकै पहलमा विद्युत् जडान गरिएको सचिव राईले बताउए। चुलोमा बलेको आगोको उज्यालोका भरमा खानापिना बनाउँदै आएकी हीरामायालाई बिजुली बलेपछि सहज भएको स्थानीय बासिन्दाले बताएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया