म्याग्दी । म्याग्दीका भारतीय सेनाको सेवाबाट निवृत्त भएका ७०० भूपू भारतीय सैनिकलाई २८ करोड रुपैयाँ पेन्सन वितरण गरिएको छ ।
भारतीय राजदूतावासअन्तर्गत बेनीस्थित जिल्ला सैनिक बोर्डले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका बीच आफ्ना भूपू सैनिकलाई पेन्सन वितरण गरेको हो ।
म्याग्दीका भूपू सैनिकलाई एभरेष्ट बैंकको बेनीस्थित सेवा केन्द्र गोरखा सैनिक सहकारी संस्थामार्फत मङ्गलवारदेखि बिहीवारसम्म वितरण गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर म्याग्दी र पर्वतका सैनिकलाई बुधवारसम्म पेन्सन वितरण गरिएको गोरखा भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टेकबहादुर रावलले बताए।
उनका अनुसार ७०० भूपू सैनिकलाई २८ करोड रुपैयाँ पेन्सन वितरण गरिएको छ ।
एभरेष्ट बैंकमार्फत पेन्सन लिनेलाई बेनीमा गोरखा सैनिक सहकारीले भुक्तानी गर्दै आएको छ । गत वर्ष बेनीमा जिल्ला सैनिक बोर्ड स्थापना र एभरेष्ट बैंकको सेवा केन्द्र खुलेपछि भूपूहरुलाई राहत मिलेको छ ।
पेन्सन लिनका लागि बागलुङ जानुपरेको छैन । कतिपय भूपूहरुले सिधैँ बैंक खातामा पेन्सन जम्मा गर्छन् । छ–छ महिनामा पेन्सन वितरण गर्छ ।
कोरोनाको त्रास र लकडाउनका कारण प्रभावित भएको ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन भूपूहरुको पनि योगदान रहने भूपू सैनिक कल्याणकारी सङ्घ म्याग्दीका अध्यक्ष मीनबहादुर कार्कीले बताए।
बन्दाबन्दीमै मोटर चल्ने पुलको ढलान
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी) का बीच म्याग्दीमा मोटर चल्ने पुलको ढलान गर्ने काम सकिएको छ ।
लकडाउनका कारण देशभर सञ्चालित धेरैजसो विकासका आयोजना ठप्प बनिरहेको अवस्थामा बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा मोटर चल्ने पुल ढलान गरिएको हो ।
स्थानीयस्तरमा उपलब्ध कामदारलाई स्वास्थ्य सामग्रीको व्यवस्था गरी परिचालन गरेर पुल ढलानका साथै प्रिस्टिचिङ (फलामको लट्ठा) तान्ने काम सकिएको निर्माण व्यवसायी रवि कार्कीले बताए ।
“पुलको स्ल्याब र ब्याकवालको काम पनि शुरु गरिएको छ”, उनले भने, “पुल निर्माणको काम ९० प्रतिशत सकिएको छ ।”
ढलानको तयारी गरेको अवस्थामा जेठ ११ गते घट्टेखोलामा आएको बाढीले सटिङ गरेका सामग्री बगाएको थियो । ४० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पुल निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजना र फेवा नयाँबाटो (जेभी) ज्वाइन्टभेञ्चरबीच विसं २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो ।
पाँच करोड ७६ लाख ८० हजार ५५६ रुपैयाँमा सम्झौता भएको पुल २०७५ असार २९ गते सम्पन्न गर्ने लक्ष्य थियो । बाढीले बगाएपछि ढिलाइ भएको पुल चालू आर्थिक वर्षभित्र सकेर हस्तान्तरण गर्ने तयारी गरेको व्यवसायी कार्कीले बताए।
आयोजनाका अनुसार यो पुल प्रिस्टिङ प्रविधिको हो । हाल घट्टेखोलाबाटै सवारी साधन आवतजावत गर्छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार घर नगएका मजदुरले रुप्से, कोवाङलगायत ठाउँमा सडक विस्तार र पर्खाल निर्माणको काम गरिरहेका छन् ।
स्थानीय मजदुर र उपकरण परिचालन गरेर विकास आयोजनालाई सञ्चालन गर्ने जिल्लाका सरोकारवालाले नीति लिए पनि मजदुर र निर्माण सामग्रीको अभाव भएको छ ।
लकडाउनपछि धेरैजसो मजदुर हिँडेरै भए पनि घर गएका छन् । सिमेन्ट, रडलगायत निर्माण सामग्रीको अभाव भएकाले आयोजना सञ्चालनमा समस्या भएको निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया