डा. रुना झा : जो परिवारसँग छुट्टिएर नेपाललाई कोरोनाबाट बचाउन लागिपरेकी छिन्

काठमाडौं । विश्वनै अहिले कोरोना महामारीको सामना गरिरहेको छ । कोरोनाकै कारण विश्वभर २ लाख ४५ हजार २सय ४१ जनाले ज्यान गुमाएका छन् । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस कोभिड १९ बाट बच्ने औषधी तथा यसविरुद्धको भ्याक्सिन पत्ता लागेको छैन ।

सारा विश्व नै यो महामारीसँग जुधिरहेको अवस्थामा सबैले आफ्नो क्षेत्रबाट कोरोना महामारी रोक्न सक्दो प्रयास गरिरहेका छन् । यसैबीच कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि फ्रन्ट लाइनमा बसेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ । त्यहि पाँच महिला मध्ये नेपालकी डा। रुना झा पनि परेकी छिन् ।

डा। रुना झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक हुन् । नेपालमा कोरोना परीक्षणको नेतृत्व उनले नै गरिरहेकी छिन् । दैनिक ७० वटा स्याम्पलको परीक्षण गरिरहेका छन् । एकै समयमा स्याम्पलहरु नआइपुग्ने हुँदा झा २४ सै घण्टा खटिरहेकी हुन्छिन् । ‘ल्याबमा ढिलासम्म बस्नु त अब मलाई सामान्य भइसक्यो । उनी भन्छिन् । आफ्नो टोलीको सुरक्षा झाका लागि पहिलो प्राथमिकता हो ।

गत मध्य फेब्रुअरीदेखि डा। झाको काम सुरु भएको थियो जब १७५ जना विद्यार्थीलाई चीनको वुहानबाट नेपाल ल्याइयो । उनीहरुलाई राखिएको क्वारेन्टाइनमा प्रवेश गर्ने झा कै टोली प्रथम थियो ।

‘मेरो टोलीले स्याम्पल लिन कुनै संकोच गरेन । सबै तयार थिए । हामीले दिन रात काम गरेर स्याम्पल लिएका थियौँ,’ उनले आफ्नो अनुभव साझा गरिन् ।
महामारी बढेसँगै कामको चाप बढेको उनी बताउँछिन् ।

यो काम गर्नु झाको लागि चुनौतीपूर्ण पनि छ । परिवारमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिमको कारण उनी अहिले आफ्ना पति र छोरीसँग नबसेर एक्लै बसेकी छिन् । उनले आफ्ना बुबाआमासँग पनि भेटेकी छैनन् । उनी परिवारसँग बस्न मन भएको तर सबैको सुरक्षाको लागि आफ्नो चाहनासँग सम्झौता गर्नुपरेको बताउँछिन् ।

उनीसँगै चीनकी यान सेङलियान, जोर्डनकी अमाल अल महायरा र हदिल दबाइबेह, कजाकिस्तानकी डिना स्माइलोभा र एन्टीगुआकी रायान्सिया हेनरीको प्रेरक कथा प्रस्तुत गरिएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर २ लाख ४५ हजार २सय ४१ जनाले ज्यान गुमाएका छन् । ३५ लाख ७ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

रुना झाबारे पुरा कथा पढ्न याहाँ थिच्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?