काठमाडौं । चितवनको रत्ननगर नगरपालिकाले बाँझो जमिनमा सामूहिक खेती गर्ने अभियान सुरु गरेको छ ।
नगरापालिका भित्र बाँझो रहेका प्लटिङ तथा अन्य सार्वजनिक जग्गामा खेती सुरु गरिएको छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउने उद्देश्यले बाझो जमिनमा सामूहिक खेती सुरु गरिएको नगरपालिकाका मेयर नारायण वनले बताए ।

उनका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर १४ पिठुवामा रहेको करिब ३० विगहा बाँझो जमिनमा खेती गर्न सुरु गरिएको छ । नगरपालिकाले विपन्न वर्गका ३ सय परिवारलाई ५० समूह बनाई सामूहिक खेतीको सुरुवात गरेको हो । सामूहिक खेतीमा प्रोत्साहन गर्न नगरपालिकाले जमिन जोत्न तेल खर्चसँगै मकै र बोडीको बिउ उपलब्ध गराएको छ । यस्तै बाँझो जग्गा राख्नेलाई जरिवाना समेत गर्दै आएको छ ।
https://www.facebook.com/lokpath/videos/234663344424656/?t=8
विपन्न समूहलाई काम नभएर सरकारले राहत दिनुपर्ने तर जमिन बाँझो रहने स्थिति रहेकाले नगरभित्र रहेको सबै जमिनमा खेती गर्ने अभियान सञ्चालन गरिएको मेयर वनले बताए । कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि लकडाउन गरीएपछि समस्यामा परेका विपन्न वर्गका लागि नगरपालिकाले ८२ लाख रुपैयाँ बराबरको राहत वितरण गरेको थियो ।
काम नभएर राहत वितरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि नगरपालिकाले निःशुल्क जमिन र बिउबिजन उपलब्ध गराएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया