जनस्तरबाट लकडाउन उल्लंघन (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि लाकडाउन गरिएपनि देशभरी नै जनस्तरबाट यसको उल्लंघन हुन थालेको छ । सरकारले आइतबार वैशाख २५ गतेसम्म लकडाउन जारी रहने निर्णय गरेको छ । तर जनस्तरमा भने यसको पालना भएको पाइएको छैन् ।

चैत ११ बाट जारी लकडाउनको समय लम्बिदै गएपछि सर्वसाधारण र स्थानीय तहहरुले यसको उल्लंघन गरिरहेका छन् । उपत्यका लगायतका देशका अन्य ठूला सहरबाट गाउँ जाने सर्वसाधारणहरुको भिड छ । स्थानीय तहहरुले गाडी नै बुकिङ गरेर आफ्ना नागरिकहरुलाई गाउँ भित्र्याइरहेका छन् । कोरोना नियन्त्रणका लागि सामाजिक दुरी कायम राख्नुपर्ने स्वास्थ्य विज्ञहरुले बताइरहेपनि स्थानीय तहहरुले एउटै गाडीमा ठूलो संख्यामा सर्वसाधारण राखेर गाउँ भित्रइरहेका छन् ।

यसैबीच विराटनगरबाट उद्दार गरिएका केही व्यक्तिहरु नागढुंगामा अलपत्र परेका छन् । विराटनगरबाट आएका गाडीहरु प्रहरीले उपत्यका प्रवेश गर्न नदिएपछि उनीहरु नागढुंगामै अलपत्र परेका हुन् । विराटनगर महानगरपालिकाले विभिन्न ७ वटा गाडीमा राखेर १ सयभन्दा बढी नागरिकलाई काठमाडौं पठाएको थियो । यसैगरी रतुवामाई गाउँपालिकाले पनि आफ्ना नागरिकहरुलाई लैजान पठाएको गाडीमा आएकाहरु पनि अलपत्र छन् ।

विराटनगरबाट काठमाडौं आएका सर्वसाधारण कागेश्वरी मनोहरा ८ का स्थानीय विष्णु प्रसाद गुरागाईंले काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकको उद्दार गर्न रतुमाइ गाउँपालिकाले पठाएको गाडीमा आफु आएको बताए । गाउँपालिकाले काठमाडौं जान लागेको गाडी खाली नै भएकाले आफुहरुलाई त्यसैमा जान भनेपछि नागढुंगामा प्रहरीले रोकेर राखेको बताए । गुरागाईंका अनुसार गाउँपालिकाले उपत्यकाबाट २ सयभन्दा बढी नागरिकहरुलाई लैजान गाडी पठाएको हो ।

https://www.facebook.com/lokpath/videos/4123513921022761/

सिन्धुपाल्चोक जान विराटनगरबाट आएका याङलुङ तामाङले प्रहरीले आफुहरुलाई रोकेपनि आफुसँगै आएकाहरुलाई गाडीमा काठमाडौं पठाएको आरोप लगाए । ‘विराटनगरबाट मेयरले मिलाएर पठाए । बाटोमा केही भएन् । गाडीमा औषधि पनि हालिएको थियो । तर यहाँ आएपछि हामीलाई प्रहरीले रोकेको छ । केहीलाई काठमाडौं पठाएको छ ।’, उनले भने, ‘पठाउने भए सबैलाई पठाउनुपर्ने नभए सबैलाई फर्काउनुपर्ने थियो । हाम्रो विजोग भयो ।’

लक डाउनको चौतर्फी उलंघन हुन थालेपछि गृहमन्त्रालयले लक डाउन कडाई गर्न निर्देशन दिएको छ । गृहले सोमबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै लक डाउन उल्लंघन गर्न निर्देशन दिएको हो । सवारी पास नभएका सवारी पनि चलेको पाइएको भन्दै गृहले प्रमुख जिल्ला अधिकारीलाई थप कडाई गर्न पत्राचार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?