प्रदेश र स्थानीय तहका समस्याहरु सम्बन्धीत निकायमा पु-याउन राष्ट्रिय सभा अध्यक्षको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सात वटै प्रदेशका सभामुखहरुसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको नियन्त्रणमा प्रदेश र स्थानीय तहमा देखिएका समस्याहरुको समाधानका लागि गरिएका प्रयासका विषयमा बुधबार अध्यक्ष तिमिल्सिनाले सातै प्रदेशका सभामुखहरुसँग छलफल गरेका हुन् ।

भिडियो कन्फ्रेन्समा लकडाउनको क्रममा प्रदेश र स्थानीय तहमा देखिएका समस्याहरुको सूचना लिएर सम्बन्धीत निकायमा पु-याउने विषयमा प्रदेश सांसदहरुसँग छलफल चलाउन अध्यक्ष तिमिल्सिनाले आग्रह गरे । यस्तै लकडाउनको असर अर्थतन्त्रमा पर्ने भएकाले यस विषयमा समेत अहिले देखिनै छलफल चलाउनुपर्ने उनले बताए । भिडियो कन्फ्रेन्समा प्रदेश सभामुखहरुले सामाजिक दुरी कायम गर्दै जनताको समस्याको सूचना लिने र त्यसको समाधानका लागि पहल गर्ने काम सांसदहरुले गरिराखेको बताएका छन् ।

प्रदेश सभामुखहरुले कोरोना भाइरससँगको लडाईमा आ–आफ्नो प्रदेशमा भएका कामहरुको बारेमा समेत एक आपसमा जानकारी गराएका छन् । यस्तै प्रदेश संसदले प्रदेश सरकारसँग मिलेर कोरोना भाइरस नियन्त्रणका लागि काम गर्ने तयारीका विषयमा समेत एकआपसमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?