सर्लाहीमा कोरोनाको शंकास्पद बिरामी फेला, पठाइँदैछ काठमाडौं

एसपी यादव / सर्लाही । सदरमुकाम मलङ्ग्वा देखि पश्चिममा रहेको गोडैता नगरपालिकाको वडा नम्बर ५ मा पर्ने रामबन टोलमा कोरोना भाइरसका एक जना शंकास्पद व्यक्ति फेला परेका छन् ।

कोरोना भाइरसबाट प्रभावित भारतको केरला राज्यबाट केहि दिन अघि उनी आफ्नो घर रामबन आएका थिए । उनलाई १०५ डिग्री सम्मको ज्वरो आउने र रुघाखोकी लाग्ने गरेको गोडैता नपाका मेयर देवेन्द्र कुमार यादवले जानकारी गराएका छन् ।

भारतको केरलाबाट आएका ती व्यक्तिलाई उच्च ज्वरो आएको र रुघाखोकी लागेको जानकारी प्राप्त भए लगत्तै प्रहरीको टोलि निजलाई घरबाट ल्याएर गोडैता नपाले स्थापना गरेको क्वारेन्टाइन कक्षमा राखिसकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी गराए ।

कोरोना भाइरस परिक्षणका लागि निजलाई एम्बुलेन्स मार्फत काठमाण्डौ पठाउने तयारी भईरहेको नपा प्रमुख मेयर यादवले बताएका छन् । त्यस्तै यसै नपाको वडा नम्बर ३ मा पर्ने भगवतीपुरबाट एक जनालाई प्रहरीले घरबाट पक्राउ गरि क्वारेन्टाइनमा लगेका छन् । कतारबाट आएपछि यिनले विभिन्न ठाउँमा लुकेर बस्दै आएको जानकारी स्थानियले नपामा गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भारत तथा अन्य मुलुकबाट आएका २१ जनालाई गोडैता नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकिय अधिकृत बिकाउ कुमार यादवले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?