विमलबहादुर बिष्ट / डोटी । नयाँ वर्ष नजिकिँदै गर्दा कामका लागि छिमेकी मुलुक भारत तथा देशका विभिन्न ठाउँमा गएका सुदूरपश्चिमेली धमाधम घर फर्किन थालेका छन् । नयाँ वर्षलाई सुदूरपश्चिमका स्थानीयवासीले बिसुपर्वका रुपमा मनाउने गर्दछन् । कामका लागि भारतको पञ्जाब शहर गएका जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँका स्थानीय काले लुहार अहिले आफ्ना घरपरिवारसँगै बसेर बिसु मनाउन हालै घर फर्किएको बताए । उनले भने, “वर्षभरि अर्काको देशमा बसेर काम गरियो, अहिले बिसुजस्तो पर्वलाई त छाड्नुभएन त्यसैले परिवार लिएर घर आएको छु ।”
उनीजस्तै कामका लागि जिल्ला बाहिरिएका सयौँ डोटीसहित सुदूरपश्चिमेली अहिले आ–आफ्ना घर आउन थालेका छन् । परदेश गएका अहिले गाउँघरमा आउन थालेपछि अहिले यहाँका गाउँघरमा दशैँको बेलाजस्तै रौनकता छाएको बोगटान फुड्सिल गाउँपालिका–१ का तिलक बोगटीले बताए । उनले भने, “बिसु मनाउन आएकाहरुका कारण बजारभन्दा पनि अहिले गाउँममा निकै चहलपहल छ ।” बिसुपर्व मान्न घर फर्किनेमा अधिकांश सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, बाजुरा, अछाम, डडेल्धुरा, दार्चुला र डोटीका कामको खोजीमा छिमेकी मुलुक भारत तथा अन्य देशमा गएकाहरु बढी छन् ।
ट्राफिक प्रहरी चौकी बुडरका प्रमुख भरत शाहीका अनुसार दैनिक सयौँको सङ्ख्यामा भारतका विभिन्न शहरमा काम गरी बिसुका लागि सुदूरपश्चिमका पहाडी जिल्लाका स्थानीय युवा आ–आफना घर फर्किरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण भारतलगायतका देशका विभिन्न ठाउँमा रहेका नेपाली काम गर्ने ठूला कम्पनी धमाधम बन्द हुन थालेका कारण सुदूरपश्चिमेली अहिले आ–आफना घर फर्किन थालेको बताइएको छ ।
बिसु मनाउन यहाँका स्थानीयवासी घर फर्किन थालेपछि यात्रुको चाप एकाएक निकै बढेकाले यहाँका पहाडी क्षेत्रका प्रत्येक रुटमा दुई वटा गाडी थप गरिएको सुदूरपश्चिम बस व्यवसायी समिति धनगढीले जनाएको छ । यतिमात्र नभई यात्रुको चापका कारण यहाँका पहाडी क्षेत्रका होटलजस्तै डडेल्धुरा र दिपायलका होटलमा यात्रुले खचाखच भरिन थालेको होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले जानकारी दिए ।उनले भने, “बिसु पर्व मनाउने भारत गएका आउन थालेपछि जिल्लाका होटल भरिभराउन हुन थालेका छन्, होटल व्यवसायीको पनि आम्दानी बढेको छ ।”
सुदूरपश्चिमका पहाडी जिल्लामा गौरा र दशैँ पर्वपछिको एक महत्वपूर्ण पर्व बिसुलाई मानिने भएकाले पनि यहाँका स्थानीयवासी बढीजसो आ–आफनो घर फर्किने गरेको जोरायल गाउँपालिका–५ गडसेराका मोहनबहादुर पातलीले बताए । उनले भने, “दशैँभन्दा पनि यहाँका गाउँमा बिसु र गौरापर्वलाई बढी महत्व दिइने भएकाले यो बेला घर नआउने त कोही हुदैन ।” बिसुपर्वका लागि गाउँमा नयाँ लुगा किन्नेको पनि अहिले भीड लागेको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीय व्यापारी चेतबहादुर विष्टले बताए । यहाँका तराईका जिल्लाभन्दा पनि पहाडी जिल्लामा बिसुपर्वलाई बढी महत्व दिएर धुमधामका साथ मनाइने गरिन्छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया