काठमाडौं । बेलायतका राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भ्रमणका लागि सोमबार भारत आइपुगेका छन् ।
सन् २०२४ मा क्याथरिनलाई क्यान्सर भएको पुष्टि भएपछि दुवै जना सँगै विदेश भ्रमणमा निस्किएको यो पहिलो पटक हो ।
राजपरिवारका उक्त दम्पतीले मुम्बईबाट भ्रमण सुरु गर्ने बताइएको छ । उनीहरू मङ्गलबार ‘अर्थसट प्राइज’ वितरण समारोहमा सहभागी हुने कार्यक्रम छ । राजकुमार विलियमले सुरु गरेको यस वातावरणीय पुरस्कारअन्तर्गत जलवायु परिवर्तनका चुनौती समाधान गर्ने नवीन उपायलाई प्रोत्साहन गर्न पाँच विजेतालाई जनही १३ लाख अमेरिकी डलर प्रदान गरिन्छ ।
सन् २०२० मा स्थापना भएको यस पुरस्कारको अहिलेसम्मकै ठूलो समारोहमा भारतीय क्रिकेटका चर्चित खेलाडी सचिन तेन्दुलकर, अभिनेत्री आलिया भट्ट र अभिनेता रामी मालेकसहित विशिष्ट अतिथिहरू सहभागी हुनेछन् । बेलायती पप समूह ‘टेक द्याट’ले पनि यसै कार्यक्रममार्फत पहिलो पटक भारतमा प्रस्तुति दिनेछ ।
राजकुमार विलियमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतले विगत छ वर्षमा अर्थसट अभियानमा असाधारण योगदान दिएको छ । अन्य कुनै पनि देशको तुलनामा भारतबाट सबैभन्दा बढी फाइनलिस्ट र विजेता आएका छन् ।’
भारत आइपुगेपछि राजकुमार विलियम र राजकुमारी क्याथरिनले मुम्बईको बलार्ड इस्टेट क्षेत्रमा स्थानीय बासिन्दासँग सडक क्रिकेट खेलेका छन् । सडक क्रिकेट मुम्बईको दैनिक जीवनको अभिन्न हिस्सा मानिन्छ ।
नयाँदिल्ली प्रस्थान गर्नुअघि उनीहरूले भारतको क्रिकेट, फेसन र चलचित्र उद्योगसँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाउनेछन् । नयाँ दिल्लीमा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

उनीहरूले १० वर्षअघि भारत भ्रमणका क्रममा पनि प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए । त्यतिबेला राजा चाल्र्स तृतीयका जेठा छोरा विलियम बेलायती राजसिंहासनका उत्तराधिकारी बनिससकेका थिएनन् ।
यो भ्रमण राजकुमारी क्याथरिनका लागि विदेशमा हुने राजपरिवारका औपचारिक गतिविधिमा सक्रिय सहभागिताको महत्वपूर्ण पुनरागमनका रूपमा हेरिएको छ । उनले सन् २०२४ मार्चमा पेटको ठूलो शल्यक्रियापछि उपचारका क्रममा आफूलाई क्यान्सर भएको जानकारी दिएकी थिइन् । ‘केट’ नामले पनि परिचित उनले सन् २०२५ जनवरीमा आफू क्यान्सरमुक्त अवस्थामा पुगेको घोषणा गरेकी थिइन् । त्यसयता उनले क्रमशः सार्वजनिक जिम्मेवारी सम्हाल्न थालेकी छन् ।
यसअघि क्यान्सर पुष्टि भएपछि पहिलो विदेश भ्रमणका क्रममा उनी गत मे महिनामा पतिबिना नै इटाली गएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया