झापा । झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन् । ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आगलागीबाट कुल १७ करोड ५१ लाख १३ हजार ९७५ रुपैयाँ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार भदौ, असोज र कात्तिकमा आगलागीका घटना भएका हुन् ।
प्रहरीका अनुसार कात्तिक महिनामा मात्रै आगलागीका २६ घटना भएका छन् । ती घटनाबाट ६ करोड ७२ लाख २१ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । कात्तिकमा भएका आगलागीमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
त्यस्तै, असोज महिनामा आगलागीका १२ घटना हुँदा १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँ बराबरको क्षति भएको थियो । भदौ महिनामा भने आगलागीका सात घटना भएका थिए । ती घटनाबाट १२ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार पछिल्लो तीन महिनामा जिल्लामा भएका अन्य विपद्का घटनाको तुलनामा आगलागीबाट सबैभन्दा बढी आर्थिक क्षति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया