बेइजिङ । चीनले पहिलो पटक मुखबाट सेवन गर्न मिल्ने तौल घटाउने औषधि स्वीकृत गरेको छ । अमेरिकी औषधि कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि ‘मुयुडा’ ब्रान्डमा बिक्री गर्न अनुमति दिइएको हो ।
चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले मोटोपना वा बढी तौल भएका र त्यससँगै कम्तीमा एउटा स्वास्थ्य समस्या भएका वयस्कको उपचारका लागि यो औषधि स्वीकृत गरेको हो। यो औषधि दिनमा एक पटक खानुपर्छ । गत अप्रिलमा अमेरिकाले पनि यसलाई प्रयोगका लागि अनुमति दिएको थियो ।
योसँगै एली लिली चीनमा मुखबाट खाने जीएलपी–१ औषधि स्वीकृत गराउने पहिलो कम्पनी बनेको छ । यसअघि चीनमा एली लिली, डेनमार्कको नोभो नोर्डिस्क र चिनियाँ कम्पनी इनोभेन्टले सुईमार्फत दिइने तौल घटाउने औषधि उपलब्ध गराउँदै आएका थिए ।
जीएलपी–१ औषधिले शरीरमा प्राकृतिक रूपमा पाइने भोक नियन्त्रण गर्ने र रगतमा चिनीको मात्रा सन्तुलनमा राख्ने हर्मोनको काम गर्छ । यसले भोक कम गर्न र तौल घटाउन सहयोग पुर्याउँछ ।
अहिलेसम्म यस्ता औषधि मुख्य रूपमा सुईमार्फत दिइँदै आएकोमा अब खाने औषधि पनि उपलब्ध हुन थालेपछि औषधि उत्पादक कम्पनीहरूबीच प्रतिस्पर्धा बढेको छ ।
‘द ल्यान्सेट’ मा सन् २०२५ मा प्रकाशित अध्ययनअनुसार सन् २०५० सम्ममा चीनमा बढी तौल र मोटोपना भएका वयस्कको सङ्ख्या ६३ करोड पुग्न सक्ने अनुमान गरिएको छ ।
त्यस्तै, चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सन् २०३० सम्ममा देशको ६५ प्रतिशत जनसङ्ख्यामा बढी तौल वा मोटोपनाको समस्या देखिन सक्ने चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया