ग्राहकको माग बढेपछि दराज ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

लोकपथ
0
Shares

काठमाडौं । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले आफ्नो सबैभन्दा ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता र माग बढेपछि कम्पनीले अभियान नोभेम्बर १९ अर्थात् मंसिर ३ गतेसम्म सञ्चालन गर्ने भएको हो ।

यसअघि छोटो अवधिका लागि सञ्चालन गरिएको अभियानलाई ग्राहकको मागअनुसार विस्तार गरिएको दराजले जनाएको छ । अभियानको अवधिभर ग्राहकले विभिन्न सामग्रीमा ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर तथा छनोट गरिएका सामानमा निःशुल्क डेलिभरी सुविधा पाउनेछन् ।

दराजका अनुसार अभियानको सुरुवाती दिनमा विद्युतीय सामग्री, फेसन, घरायसी सामान तथा दैनिक उपभोग्य वस्तुको माग बढी देखिएको छ । विशेषगरी इयरबड, हेडफोन, स्मार्टफोन, स्मार्ट घडी, भान्सामा प्रयोग हुने उपकरण, जाडोयामका कपडा, जुत्ता, झोला तथा यात्रासम्बन्धी सामग्री ग्राहकको रोजाइमा परेका छन् ।

त्यस्तै, तिहारका लागि आवश्यक सजावटी बत्ती, रङ्गोलीका सामग्री, फर्निचर, घर सजावटका सामान, खाद्यवस्तु तथा दैनिक प्रयोगका सामग्रीमा पनि ग्राहकको आकर्षण देखिएको कम्पनीले जनाएको छ ।

अभियानमा विद्युतीय भुक्तानीको प्रयोग पनि बढेको छ। दराजमा हुने कुल भुक्तानीमध्ये ६० प्रतिशतभन्दा बढी कारोबार अग्रिम भुक्तानी र क्यूआरलगायतका विद्युतीय माध्यमबाट हुने गरेको कम्पनीको भनाइ छ । बैंक तथा भुक्तानी सेवा प्रदायकसँगको सहकार्यमा ग्राहकले छुट र नगद फिर्ताको सुविधासमेत पाउँदै आएका छन् ।

दराजले आफ्नो डेलिभरी सेवा देशभरका ५१६ सहरमा विस्तार गरेको जनाएको छ । दराज एक्सप्रेसमार्फत सहरी क्षेत्रसँगै अन्य स्थानका ग्राहकले पनि अनलाइन किनमेल सेवा लिन सक्नेछन् ।

यस वर्षको ११.११ अभियान तिहार र छठ पर्वको समयमा सञ्चालन भइरहेको छ। यसअघि कम्पनीले दसैँलाई लक्षित गर्दै १०.१० अभियान सञ्चालन गरेको थियो ।

अभियानको अवधि थपिएसँगै ग्राहकले नोभेम्बर १९ अर्थात् मंसिर ३ गतेसम्म दराजको मोबाइल एप र वेबसाइटबाट विभिन्न सामानमा उपलब्ध छुट तथा अन्य सुविधाको लाभ लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?