कामना सेवा फुट्सल कपको उपाधि कुमारी र लुम्बिनी विकास बैंकलाई

लोकपथ
0
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुट्सल कप’ को छैठौं संस्करण सम्पन्न भएको छ ।

आइतबार धन्यन्तरी फुट्सलमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको पुरुषतर्फको फाइनलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको छ ।

यस्तै, महिलातर्फ लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै उपाधि हात पारेको छ । लुम्बिनी विकास बैंकले आफ्नो उपाधि रक्षा गर्न सफल भएको हो ।

प्रतियोगिताको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरेर गरेका थिए ।

मुख्य प्रतियोगिताअघि नेपाल आर्थिक पत्रकार संघ, नेपाल खेलकुद पत्रकार मञ्च र नेपाल विज्ञापन संघबीच मैत्रीपूर्ण खेलसमेत आयोजना गरिएको थियो । उक्त खेलमा नेपाल आर्थिक पत्रकार संघ विजयी भएको थियो ।

प्रतियोगिताको समापन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

बैंकले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा आयोजना गर्दै आएको यस प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाबीच आपसी सम्बन्ध, एकता र सहकार्य अभिवृद्धि गर्न सहयोग पुर्‍याउँदै आएको छ ।

साथै, विभिन्न संस्थाका कर्मचारीलाई खेलकुदमार्फत एकै ठाउँमा जोड्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्य प्रतियोगिताले राखेको छ ।

यसै अवसरमा बैंकले आफ्नो २०औँ वार्षिकोत्सवका अवसरमा कात्तिक १८ गते बुधबार देशव्यापी रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?