३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

लोकपथ
0
Shares

क्यालिफोर्निया । अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार १५६ पाउन्ड (करिब एक हजार ४३१ किलोग्राम) तौलको विशाल फर्सीले विश्वकै सबैभन्दा भारी फर्सीको कीर्तिमान तोड्ने सम्भावना देखिएको छ । हाल कायम कीर्तिमानभन्दा करिब ३०० पाउन्ड (१३६ किलोग्राम) बढी तौल भएको उक्त फर्सीको विश्व कीर्तिमानका लागि आधिकारिक पुष्टि हुन बाँकी छ ।

रोड आइल्यान्डको ग्रीनका उत्पादक रोन वालेसले न्यु इङ्गल्यान्डमा आयोजित प्रतियोगितामा आफ्नो फर्सीको तौल गराएका थिए । उनले करिब एक साताअघि इंग्ल्याण्डका एक उत्पादकले बनाएको कीर्तिमान तोडेको पुष्टि गर्न गिनिज वल्र्ड रेकरड्सको प्रतीक्षा गरिरहेका छन् । गिनिजका अधिकारीहरूसँग सम्पर्कमा रहेका वालेसले आफ्नो कीर्तिमान प्रमाणित हुने प्रक्रियामा रहेको जानकारी पाएको बताए ।

‘यो साँच्चिकै विशाल छ । यस्तो फर्सी उब्जाउन पाउँदा खुसी लागेको छ,’ उनले भने ।

गिनिज वल्र्ड रेकड्र्सका अनुसार हाल इंग्ल्याण्डको लिमिङटनका इयान प्याटनले उब्जाएको दुई हजार ८५७ पाउन्ड (एक हजार २९६ किलोग्राम) तौलको फर्सी सबैभन्दा भारी फर्सीको कीर्तिमानमा सूचीकृत छ । प्याटनले अक्टोबरमा उक्त कीर्तिमान बनाएका थिए । गिनिजका अधिकारीहरूले यस विषयमा टिप्पणी गर्न गरिएको अनुरोधको जवाफ दिएका छैनन् ।

विश्वभरका उत्पादकले यस महिना आफ्ना फर्सीलाई सबैभन्दा भारी घोषित गराउने लक्ष्यसहित विभिन्न प्रतियोगितामा भाग लिइरहेका बेला वालेसको फर्सीले नयाँ कीर्तिमान कायम गर्ने सम्भावना देखिएको हो । उत्तरी क्यालिफोर्नियामा सोमबार आयोजित अर्को प्रमुख प्रतियोगितामा मिनेसोटाका उत्पादकले लगातार पाँचौँ पटक उपाधि जितेका छन् ।

वालेसले आफ्नो स्थानीय प्रतियोगितामा तीन हजार ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरे । उनका अनुसार केही अन्य प्रतियोगिताले ७० हजार डलरसम्मको पुरस्कार दिने प्रस्तावसहित आकर्षित गर्न खोजेका थिए । तर, कीर्तिमान बनाउने अवसरमा आफ्नो गृहनगरका मानिसको साथ र समर्थन पाउनु उनका लागि बढी महत्वपूर्ण थियो ।

फर्सीको तौल सार्वजनिक गरिएको क्षण सम्झँदै उनले भने, ‘म निकै खुसी भएँ । त्यहाँको वातावरण एकाएक उत्साहले भरिएको थियो ।’

वालेसले विशाल फर्सी उत्पादन गर्ने समुदायबाट आफूले धेरै सहयोग पाएको बताए । उक्त समुदायका सदस्यले सबैभन्दा ठूलो फर्सी उब्जाउने उपाय, अनुभव र सीप एकअर्कासँग खुलस्त बाँड्ने गर्छन् । यस वर्ष पहिलोपटक उनले हरितगृहमा फर्सी उब्जाउन थालेका थिए । यसले उत्पादनको आकार बढाउन उल्लेखनीय फरक पारेको उनको भनाइ छ ।

‘तीन हजार पाउन्डको फर्सी उत्पादन गर्ने एउटै उपाय भनेको समुदायका सबै मिलेर काम गर्नु हो,’ उनले भने ।

अनलाइनमा बगैँचामा प्रयोग हुने सामग्री बिक्री गर्ने व्यवसाय सुरु गरेपछि वालेस फर्सी उत्पादनको यस शौकमा आकर्षित भएका थिए । अहिले उनी विशाल फर्सी उत्पादकको समुदायको हिस्सा हुन पाउँदा गर्व गर्छन् । उनका अनुसार यस्ता प्रतियोगिताले फर्सी उत्पादकलाई पहिचान दिलाउनुका साथै उनीहरूको अनुभव र सीपलाई पनि स्थापित गर्न मद्दत गर्छन् ।

कृषि क्षेत्रका मानिसले माटोको गुणस्तर र खेतीका विभिन्न प्रविधिबारे सल्लाह लिन पछिल्लो समय फर्सी उत्पादकसँग सम्पर्क बढाइरहेको पनि उनले बताए ।

यसैबीच, उत्तरी क्यालिफोर्नियाको हाफ मुन बेमा आयोजित वार्षिक फर्सी तौल प्रतियोगितामा ‘रकी’ नामको फर्सीले दुई हजार ३८९ पाउन्ड (एक हजार ८३ किलोग्राम) तौलसहित उपाधि जितेको छ । तर यसको तौल वालेसको सम्भावित विश्व कीर्तिमानभन्दा निकै कम छ ।

मिनेसोटाका बागवानी शिक्षक ट्राभिस गिएंगरले लगातार पाँचौँ पटक प्रतियोगिता जित्न आफ्नो फर्सीलाई देशभरि यात्रा गराएर क्यालिफोर्निया ल्याएका थिए । सान फ्रान्सिस्कोको दक्षिणमा रहेको हाफ मुन बेमा दर्जनौँ विशाल फर्सी उत्पादकलाई पछि पार्दै उनले २१ हजार ५०१ अमेरिकी डलर पुरस्कार प्राप्त गरे ।

गत वर्ष फर्सी बढ्दै गर्दा फुटेपछि गिएंगर प्रतियोगितामा सहभागी हुन सकेका थिएनन् । यस वर्ष पुनरागमन गर्ने लक्ष्यसहित उनले आफ्नो फर्सीको नाम ‘रकी’ राखेका थिए । यो नाम अभिनेता सिल्भेस्टर स्टालोनले अभिनय गरेको चर्चित बक्सरको पात्रबाट प्रेरित थियो ।

‘पाँचौँ पटकको च्याम्पियन, हामी यहाँ यही गर्न आएका हौँ,’ उपाधि जितेपछि गिएंगरले भने ।

गिएंगर र उनको परिवारले एउटा सानो कारजत्रो आकारको फर्सी लिएर मिनेसोटाबाट क्यालिफोर्नियासम्म ३५ घण्टा गाडी चलाएका थिए । प्रतियोगिताका आयोजक रोनान फाउलरका अनुसार गिएंगरले मिनियापोलिसको उत्तरमा मिसिसिपी नदीको किनारमा रहेको अनोका सहरस्थित आफ्नै घरको बगैँचामा फर्सी उब्जाएका हुन् ।

यस वर्ष उनले पानी जम्ने तापक्रमभन्दा पनि तल झरेको अत्यधिक चिसोको सामना गर्नुपरेको थियो । भविष्यमा अझ प्रतिस्पर्धात्मक रूपमा फर्सी उब्जाउने हो भने वालेसले जस्तै तापक्रम नियन्त्रण गर्न सकिने वातावरणमा खेती गर्नुपर्ने हुन सक्ने उनको भनाइ छ ।

फाउलरले भने, ‘ट्राभिसले ३० डिग्रीजस्तो चिसो तापक्रमको सामना गर्दै पनि यति विशाल फर्सी उब्जाउन सक्नु निकै आश्चर्यजनक छ ।’

हाफ मुन बेमा आयोजित ५३औँ विश्व च्याम्पियनसिप फर्सी तौल प्रतियोगितामा सयौँ मानिस सहभागी भएका थिए । कार्यक्रममा खाना बेच्ने गाडी, संगीत र फर्सीसम्बन्धी ठट्टासमेत प्रस्तुत गरिएको थियो । दिनको सुरुआतमा ‘टिङ्करबेल’ नामको फर्सीले सबै भाग मिलेको र आकर्षक आकारका कारण सबैभन्दा सुन्दर फर्सीको उपाधि जित्दा दर्शकले उत्साहपूर्वक स्वागत गरेका थिए ।

प्रतियोगितामा फर्सीको प्रतिपाउन्ड नौ अमेरिकी डलरका दरले पुरस्कार रकम गणना गरिएको थियो । गिएंगरको विजयी फर्सीलाई यसै सप्ताहान्तमा हाफ मुन बेका सडकमा निकालिने परेडमा प्रदर्शन गरिनेछ । विश्व कीर्तिमान तोड्ने उत्पादकलाई दिइने ३० हजार अमेरिकी डलरको अतिरिक्त पुरस्कार भने गिएंगरले प्राप्त गर्न सकेनन् ।

यति विशाल आकारमा उब्जाइने फर्सी स्वादभन्दा आकारका लागि बढी उपयुक्त हुने भएकाले प्रतियोगिता सकिएपछि पनि फर्सीबाट बनाइने विशाल पाई खान पाइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?