नयाँ नोट सटहीको आज अन्तिम दिन, कति भयो कारोबार ?

लोकपथ
140
Shares

काठमाडौं । दशैँमा नयाँ नोटको माग बढ्ने भएकाले नेपाल राष्ट्र बैंकले यस वर्ष १५ अर्ब १३ करोड रुपैयाँ बराबरका नयाँ नोट सटही गरेको छ ।

राष्ट्र बैंकका अनुसार दशैँअघि नयाँ नोट सटही गर्ने आज शुक्रबार (असोज ३० गते) अन्तिम दिन हो । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट सर्वसाधारणलाई उपलब्ध गराएको हो ।

एक व्यक्तिले अधिकतम ३७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउने व्यवस्था गरिएको थियो । सामान्य अवस्थामा ५ देखि १५ मिनेटमै नोट सटही हुने भए पनि अत्यधिक भीड हुँदा एकदेखि डेढ घण्टासम्म समय लाग्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार असोज १ गतेदेखि २९ गतेसम्म देशभर १५ अर्ब १३ करोड रुपैयाँ बराबरका नयाँ नोट वितरण गरिएको हो ।

नयाँ नोट सटहीका लागि राष्ट्र बैंकले तीन माध्यमबाट व्यवस्था गरेको थियो । वाणिज्य बैंक तथा वित्तीय संस्थालाई ९ अर्ब ८० करोड रुपैयाँ बराबरका नयाँ नोट उपलब्ध गराइएको थियो ।

त्यस्तै, राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयसहित देशभरका आठवटा कार्यालयबाट ३ अर्ब २६ करोड रुपैयाँ बराबरका नयाँ नोट सर्वसाधारणलाई वितरण गरिएको थियो ।
राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले सञ्चालन गरेका देशभरका ७२ वटा नोट कोषमार्फत थप २ अर्ब ७ करोड रुपैयाँ बराबरका नयाँ नोट वितरण गरिएको थियो । ती नोट कोषमार्फत ताप्लेजुङ, इलाम, जुम्ला, मुगु, सुर्खेत, गुलरिया र गाईघाटलगायतका क्षेत्रमा नयाँ नोट पुर्‍याइएको थियो ।

सर्वसाधारणलाई सहज बनाउन राष्ट्र बैंकका काउन्टरमा मेसिनबाट टोकन दिने क्यु म्यानेजमेन्ट सिस्टम लागू गरिएको थियो । राष्ट्र बैंकका कार्यालयबाट दैनिक २ हजार ५०० देखि ३ हजार जनासम्मले नयाँ नोट सटही गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?