प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने आईजीपी कार्कीको योजना

लोकपथ
21
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको सेवालाई समयानुकूल, प्रविधिमैत्री र प्रभावकारी बनाउन आधुनिक संरचना तथा रणनीतिक योजना अघि बढाइएको बताएका छन् ।

शुक्रबार ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले संगठनको भविष्यलाई लक्षित गर्दै प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी भविष्यमा नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्ने लक्ष्य अघि सारिएको बताए ।

उनका अनुसार प्रहरी अस्पताललाई स्तरोन्नति गरी मेडिकल कलेज स्थापना गर्न सके प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणलाई समेत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ ।

आईजीपी कार्कीले पछिल्लो समय सूचना प्रविधिको उच्च प्रयोगमार्फत प्रहरीले अपराध अनुसन्धानमा उल्लेख्य प्रगति गरेको बताए । प्रविधिको प्रयोगलाई थप विस्तार गर्दै आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एड्भान्स्ड एनालिटिक्स सेल, एरियल सेक्युरिटी (ड्रोन एण्ड एन्टि–ड्रोन युनिट) र इन्टिग्रेटेड एन्टि–स्क्याम सेन्टर जस्ता संरचना अघि बढाइएको उनले जानकारी दिए ।

यस्ता आधुनिक संरचनाले प्रहरीको कार्यक्षमतामा गुणात्मक सुधार ल्याउने विश्वास उनले व्यक्त गरे ।

आईजीपी कार्कीले संगठनको आधारस्तम्भका रूपमा रहेको ‘चेन अफ कमाण्ड’ र अनुशासन कायम राख्न थप सतर्कता आवश्यक रहेको बताए । संगठनलाई थप उत्तरदायी र प्रभावकारी बनाउन आपसी समन्वय तथा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

उनले अमर प्रहरीहरूको बलिदानलाई स्मरण गर्दै नागरिकमैत्री, उत्तरदायी र प्रविधिमैत्री प्रहरी संगठन निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याए । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो ।

साथै, प्रहरी संगठनको सुधारमा योगदान पुर्‍याउने पूर्वप्रहरी, विद्यार्थी तथा सहयोगी संस्थालाई समेत आईजीपी कार्कीले बधाई तथा धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?