बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरु

लोकपथ
0
Shares

काठमाडौं । गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई राहत रकम वितरण गर्न थालिएको छ ।

प्राधिकरणले सम्पर्कविहीन ४७ कर्मचारीमध्ये ६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइसकेको छ ।

प्राधिकरण सञ्चालक समितिले सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही पाँच लाख रुपैयाँ र ६ महिनासम्म कार्यरत पदको सुरु तलबको आधा रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार आवश्यक आधार र प्रमाणसहित निवेदन दिएका ६ जना कर्मचारीका हकवालाले राहत रकम प्राप्त गरिसकेको प्राधिकरणले जनाएको छ । राहत पाउन बाँकी रहेका अन्य हकवालालाई आवश्यक कागजातसहित प्राधिकरणमा निवेदन दिन आग्रह गरिएको छ ।

प्राधिकरणका अनुसार राहत रकम प्राप्त गर्न सम्पर्कविहीन कर्मचारी र निवेदकबीचको नाता प्रमाणित हुने प्रमाणपत्र, हकवालाको नागरिकता प्रमाणपत्र तथा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

त्यस्तै, आफू नजिकको हकवाला भएको खुल्ने स्थानीय तहको सिफारिसपत्र, बैंक खाता नम्बर र राहत उपलब्ध गराइदिन अनुरोध गरिएको निवेदनसमेत बुझाउनुपर्नेछ ।

प्राधिकरणले विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेजअनुसार आगामी दिनमा अन्य सहयोगसमेत उपलब्ध गराइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?