काठमाडौं । काठमाडौंका सडकमा ट्राफिक व्यवस्थापन सहज र सडक आवागमन सुरक्षित बनाउन सडक डिभिजन काठमाडौंले रोड मार्किङ तथा ट्राफिक संकेत निर्माणको काम तीव्र पारेको छ ।
दिउँसो सवारीसाधनको चाप बढी हुने भएकाले डिभिजनले सडकमा थर्मोप्लास्टिक पेन्टिङसहितका चिह्न निर्माणको काम रातिको समयमा गरिरहेको छ ।
सडक डिभिजन काठमाडौंकी इन्जिनियर श्रीयंका रौनियारका अनुसार सडकमा रोड मार्किङको काम राति ९ बजेदेखि बिहान ५–६ बजेसम्म भइरहेको छ । यसका लागि राति ८ बजेदेखि नै आवश्यक तयारी सुरु गरिन्छ ।
हाल सिंहदरबार आसपासका क्षेत्रमा सडक चिह्न निर्माणको काम भइरहेको छ भने कालिमाटी क्षेत्रमा पनि जेब्रा क्रसिङ बनाउने काम जारी छ । यसैगरी, करिब ६ किलोमिटर सडकमा एज लाइन बनाउने काम सम्पन्न भइसकेको रौनियारले जानकारी दिइन् ।
सडकको प्रकृति र सुरक्षालाई ध्यानमा राखेर एज लाइनमा पहेँलो र सेन्टर लाइन तथा जेब्रा क्रसिङमा सेतो रङको थर्मोप्लास्टिक पेन्ट प्रयोग भइरहेको छ । स्पष्ट सडक चिह्नले चालकलाई लेन पहिचान गर्न र पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न सहयोग पुग्ने डिभिजनको विश्वास छ ।
रौनियारका अनुसार काठमाडौंका मुख्य सडकमा दशैँअघि नै रोड मार्किङको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसपछि दशैँ र तिहारको बीचमा अन्य सडकमा समेत कामलाई निरन्तरता दिइनेछ ।
‘काठमाडौंका सडक दिउँसो निकै व्यस्त हुने भएकाले सडक सुरक्षा तथा रोड मार्किङसम्बन्धी काम रातिको समयमा गर्ने गरेका छौँ । हामी राति ८ बजेदेखि नै तयारीमा जुट्छौँ र ९ बजेदेखि काम सुरु हुन्छ । बिहान ५–६ बजेसम्म काम गरिरहेका हुन्छौँ,’ उनले भनिन् ।
उनका अनुसार सडक सुरक्षालाई ध्यानमा राख्दै थर्मोप्लास्टिक पेन्ट प्रयोग गरेर रोड मार्किङ भइरहेको छ । मुख्य सडकमा काम सम्पन्न गरेपछि अन्य सडकमा पनि आवश्यक चिह्न निर्माण गरी सडक सुरक्षालाई थप प्रभावकारी बनाउने योजना छ ।
काठमाडौंका सडकमा ट्राफिक संकेत, सडक मार्किङ तथा अन्य सडक सुरक्षा पूर्वाधार निर्माणका लागि सडक डिभिजन काठमाडौंले के।ए।एम।ररुवीरअयान जेभीसँग ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार आयोजनाका लागि भ्याटसहित ७ करोड १५ लाख ५३ हजार २८३ रुपैयाँको बोलपत्र स्वीकृत भएको छ ।
२०८३ असार २६ गतेदेखि सुरु भएको आयोजनाको काम २०८३ चैत २५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ । सडकमा आवश्यक ट्राफिक संकेत, लेन चिह्न, जेब्रा क्रसिङ तथा अन्य सडक सुरक्षा संरचना निर्माण भएपछि सवारीसाधन र पैदलयात्रीको आवागमन थप व्यवस्थित र सुरक्षित हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया