काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, ९८ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २६ गतेदेखि २७ गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौंका विभिन्न स्थानमा अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिकस्थल तथा यातायातका सवारीसाधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दीजस्ता आपराधिक कार्यमा संलग्न व्यक्तिलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो ।

प्रहरीका अनुसार विभिन्न मुद्दामा अदालतबाट दण्ड तथा सजाय तोकिएका नौ जना कसुरदार र चालु मुद्दामा फरार रहेका सात जना प्रतिवादीसमेत पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?