काठमाडौंका यी स्थानमा आज र भोलि विद्युत् कटौती हुने

लोकपथ
581
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुधार र नियमित मर्मतसम्भारका लागि विभिन्न क्षेत्रमा केही समय विद्युत् आपूर्ति बन्द गर्न लागेको हो ।

प्राधिकरणका अनुसार ११ केभी केबल जडान, मर्मतसम्भार र परीक्षणका लागि विद्युत् कटौती गर्न लागिएको हो ।

शनिबार गैह्रीधारा फिडरअन्तर्गत लैनचौर चोक, उत्तरढोका, कैलासचौर, खरेल टोल, नीलसरस्वती स्थान, गैह्रीधारा चोक, बालुवाटार, चिनियाँ दूतावास तथा आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ ।

त्यस्तै, शनिबार नै हाँडीगाउँ फिडरअन्तर्गत ओम अस्पताल आसपास, धोबीखोला करिडोर, भत्केको पुल, हाँडीगाउँ, नक्साल भाटभटेनी, टङ्गाल, गहनापोखरी, छातागणेश, प्रहरी प्रधान कार्यालय, ज्ञानेश्वर र चारखाललगायतका क्षेत्रमा मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।

आइतबार कालिकास्थान फिडरअन्तर्गत कालिकास्थान, डिल्लीबजार, चारखाल, घट्टेकुलो, मैतीदेवी, ज्ञानेश्वर ओरालो, रातोपुल र सेतोपुललगायतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार तोकिएको काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा विद्युत् सेवा सोहीअनुसार चाँडै सञ्चालन गरिनेछ ।

विद्युत् कटौतीका कारण ग्राहकलाई पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । थप जानकारीका लागि प्राधिकरणको हटलाइन नम्बर ११५० मा सम्पर्क गर्न वा वेबसाइट हेर्न पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?