कोरला नाकादेखि लेतेसम्म पाँच सयभन्दा बढी कन्टेनर सडकमै रोकिए

लोकपथ
0
Shares

मुस्ताङ । म्याग्दीको लेतेदेखि मुस्ताङको कोरला नाकासम्म पाँच सयभन्दा बढी कन्टेनर सडकमा लामबद्ध भएर रोकिएका छन् । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र हिमपातका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनबाट आयात गरिएका सामान बोकेका कन्टेनर विभिन्न स्थानमा रोकिएका हुन् ।

बाढीपहिरोका कारण म्याग्दीको पोखरेबगर, कुनौटे, बैसरीलगायतका स्थानमा सडकमा क्षति पुगेपछि बेनी–जोमसोम सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । सडक मर्मतको काम भइरहेको भए पनि यातायात पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने सडक आयोजनाका प्राविधिकले बताएका छन् ।

सडक अवरुद्ध हुँदा जोमसोममा मात्रै ७० भन्दा बढी कन्टेनर र एक सयभन्दा बढी विद्युतीय सवारीसाधन रोकिएका छन् । चीनबाट कोरला नाका हुँदै ल्याइएका सामान बोकेका सवारीसाधन लामो समयदेखि गन्तव्यतर्फ जान नपाउँदा दसैं–तिहार लक्षित व्यापारसमेत प्रभावित भएको छ ।

यद्यपि, जोमसोम–कोरला सडक खण्डमा भने केही समययता यातायात सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडक आयोजनाले अवरुद्ध सडक मर्मत गरेपछि कोरला नजिकै रोकिएका केही मालवाहक कन्टेनर जोमसोमतर्फ ल्याइएको छ ।

यसअघि बाढीपहिरोका कारण कोरला नाकामा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा चीनबाट आयात भएका सामानको भन्सार जाँचपाससमेत प्रभावित भएको थियो । विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएपछि नाकामै ठूलो संख्यामा कन्टेनर रोकिएका थिए ।

भारी वर्षापछि आएको बाढी, पहिरो र नदी कटानका कारण म्याग्दी खण्डका विभिन्न स्थानमा विद्युत्का पोलमा क्षति पुगेको थियो । त्यसपछि करिब एक सातासम्म मुस्ताङमा केन्द्रीय ३३ केभी प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध हुँदा उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित कामसमेत प्रभावित भएको थियो ।

कोरला नाकामा रोकिएका कन्टेनरका चालक गोविन्द गुरुङका अनुसार कोरला नाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका करिब तीन सय कन्टेनर र दुई सयभन्दा बढी विद्युतीय सवारीसाधन अझै भन्सार जाँचपास तथा ढुवानीको प्रक्रियामा रोकिएका छन् ।

व्यवसायीका अनुसार चीनबाट कोरला नाका हुँदै नेपाल भित्र्याइएका अधिकांश सामान दसैं–तिहारलाई लक्षित गरेर आयात गरिएका हुन् । सडक अवरुद्ध हुँदा ती सामान समयमै बजारसम्म पुग्न नसकेपछि व्यापारीसँगै उपभोक्तासमेत प्रभावित भएका छन् ।

दसैं–तिहारमा बजारमा माग बढ्ने समयमा चीनबाट आयात भएका सामान गन्तव्यसम्म पुर्‍याउन नसक्दा व्यापारिक गतिविधिमा समेत असर परेको व्यवसायीको भनाइ छ । लामो समयसम्म ढुवानी अवरुद्ध हुँदा सामानको आपूर्ति प्रभावित हुने र त्यसको असर बजारको आर्थिक गतिविधिमा समेत पर्ने उनीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?