काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । उम्मेदवारी दर्तासँगै निर्वाचन समितिले उम्मेदवारले पेश गर्नुपर्ने आवश्यक कागजात र प्रक्रिया स्पष्ट गरेको छ ।
उम्मेदवारी दिन चाहनेले आफूले उम्मेदवारी दिन लागेको पदको फारम पूरा भरेर बुझाउनुपर्नेछ । फारममा सोही पदका लागि तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट एक जना प्रस्तावक र एक जना समर्थक राख्नुपर्नेछ । तर, उम्मेदवार आफैँ भने आफू उठेको पदका लागि प्रस्तावक वा समर्थक बन्न पाउने छैनन् ।
उम्मेदवारी दर्ता गर्दा सम्बन्धित पदका लागि तोकिएको शुल्क तिरेको बैंक भौचर वा रसिद पनि अनिवार्य बुझाउनुपर्नेछ । भौचरमा उम्मेदवारको नाम स्पष्ट रूपमा खुलेको हुनुपर्नेछ ।
त्यस्तै, उम्मेदवारले आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्र र नेपाल सरकारले जारी गरेको आधिकारिक परिचयपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ ।
समावेशी क्लस्टरबाट उम्मेदवारी दिनेले आफू सोही क्लस्टरमा पर्ने प्रमाणित गर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ ।
यसैगरी, उम्मेदवारको क्रियाशील सदस्यताको निरन्तरतासम्बन्धी सिफारिस पनि आवश्यक पर्नेछ । यस्तो सिफारिस उम्मेदवारी फारमसँगै बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन समितिले उम्मेदवारी दर्ताका क्रममा फारम, प्रस्तावक–समर्थक, शुल्कको भौचर, महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र, आधिकारिक परिचयपत्र, क्लस्टरसम्बन्धी प्रमाणपत्र र क्रियाशील सदस्यताको निरन्तरता सिफारिसलगायतका कागजात रुजु गर्नेछ ।
त्यसैले कांग्रेसको केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिन चाहनेले आवश्यक सबै कागजात पूरा गरेर मात्रै उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया