काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा सुरु हुँदैछ । पाँच दिनसम्म चल्ने महाधिवेशनको दिउँसो २ बजे भव्य समारोहबीच उद्घाटन हुँदैछ ।
महाधिवेशनमा देशभरका निर्वाचन क्षेत्र तथा प्रवासस्थित जनसम्पर्क समितिबाट आएका ७ हजार ५ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ। महाधिवेशनले पार्टीको नयाँ वैचारिक दिशा तय गर्नुका साथै नयाँ कार्यसमिति चयन गर्नेछ ।
महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन खुलामञ्च परिसर सजाइएको छ । सुरक्षा तथा प्राविधिक व्यवस्थापनको तयारी पनि अन्तिम चरणमा पुगेको छ । महाधिवेशन प्रतिनिधिहरूको आवास काठमाडौंका विभिन्न होटलमा र खानाको व्यवस्था भृकुटीमण्डपमा गरिएको कांग्रेसले जनाएको छ ।
उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत नेताहरू सहभागी हुने निश्चित भएको छ ।
त्यसैगरी भारत, चीन र अमेरिकासहित विभिन्न मुलुकका राजनीतिक दलका प्रतिनिधि तथा कूटनीतिज्ञलाई पनि निमन्त्रणा गरिएको छ । सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा काठमाडौं आइसकेकी छन् ।
महाधिवेशनको बन्दसत्र असोज १९ र २० गते सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्नेछन् । उपसभापति, महामन्त्री र कोषाध्यक्षले पनि आ–आफ्ना प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
बन्दसत्र सञ्चालनका लागि खुलामञ्चमै तीनवटा छुट्टाछुट्टै डोम–हल निर्माण गरिएको छ । पत्रकारका लागि मिडिया सेन्टर तथा आकस्मिक उपचारका लागि हेल्थ डेस्कको समेत व्यवस्था गरिएको छ ।
नयाँ नेतृत्व चयनका लागि असोज १९ गते उम्मेदवारी दर्ता तथा मनोनयनको कार्यक्रम तय गरिएको छ। मतदान भने असोज २१ र २२ गते हुनेछ ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदानलाई सहज र व्यवस्थित बनाउन खुलामञ्च, राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा प्रतिष्ठान गरी तीन स्थानमा मतदान केन्द्र तोकिएको छ ।
महाधिवेशनले कांग्रेसको आगामी नेतृत्वसँगै पार्टीको राजनीतिक, सांगठनिक तथा नीतिगत दिशासमेत तय गर्ने भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया