पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

लोकपथ
21
Shares

पर्वत । बाढीपहिरोबाट पर्वतका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, सात पालिकामध्ये ६ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो ।

सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको जोखिममा छन् । जलजलाका १७१ परिवार विस्थापित भएका छन् ।

कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएका छन् ।

जिल्लाभर १३१ घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

बाढीपहिरोले पाँचवटा विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य र प्रहरी चौकीमा क्षति भएको छ । पर्वत–बागलुङ जोड्ने झोलुंगे पुल मध्यपहाडी लोकमार्गको मालढुंगा पुलमा पनि क्षति भएको छ ।

जिल्लाका  ग्रामीण सडक अझै अवरुद्ध छन् । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–बिहादी र लुङ्खुदेउराली–हुवास सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने उनले जानकारी दिए ।

बाढीपहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय निकाय तथा नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सामाजिक संघसंस्थाले त्रिपाल, खाद्यान्न, भाँडावर्तन, ओढ्ने–ओछ्याउने, सरसफाइ र स्वास्थ्य उपचार सामग्री प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?