कांग्रेस महामन्त्रीमा डा. सुनिल शर्माको दाबी, भने– ‘कांग्रेस बनाउँछौँ, देश बनाउँछौँ’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै शर्माले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

उनले कांग्रेसलाई देशका दूरदराजमा रहेका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको बताए । दुई छाक खानाका लागि संघर्ष गरिरहेका तथा सामान्य रोगको उपचारसमेत गर्न नसकिरहेका नागरिकका पक्षमा आफूले निरन्तर काम गर्दै आएको उनको भनाइ छ ।

शर्माले लोकतन्त्र पुनःस्थापनाका लागि विगतमा नेपाल, भारत र अमेरिकासम्म पुगेर विभिन्न तहमा राजनीतिक गतिविधि तथा ‘लभिङ’ गरेको स्मरण गरे । १२ बुँदे सम्झौतादेखिको राजनीतिक यात्रालाई स्मरण गर्दै उनले नेपाली कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको बताए ।

‘हामी बीपी कोइराला, गिरिजाबाबुको क्षेत्रबाट सहभागी छौँ । हामी विराटनगरवासी, मोरङवासीहरूले त्यसमा गर्व पनि गर्छौं,’ शर्माले भने, ‘अहिले बदलिँदो परिस्थितिमा नेपाली कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने, दूरदराजमा रहेका नेपाली नागरिकका पक्षमा काम गर्ने र सामान्य नागरिकका समस्यालाई राजनीतिको केन्द्रमा राख्ने अभियानमा छु ।’

उनले आफूले कांग्रेसलाई जनतासँग जोड्ने अभियानलाई अघि बढाउने भन्दै महाधिवेशन प्रतिनिधिहरूसँग सहयोगको आग्रहसमेत गरे ।

‘कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने हाम्रो अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ,’ उनले भने ।

शर्मा मोरङ–३ बाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । त्यसअघि उनी बेलबारी नगरपालिका–४ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए ।

शर्मा २०५४ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?