गलत काम गर्नेमाथि सशस्त्रका आईजीपी निर्मम हुने, दिए यस्तो निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले संगठनमा गलत काम गर्ने कसैलाई नभएको र राष्ट्रका सिपाही जनताका दुःखका साथी बनेर काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार कोशी प्रदेशस्थित सीमा ईलाकाको निरीक्षण भ्रमणका क्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले राज्यले सुम्पेको जिम्मेवारी र संगठनको म्याण्डेटलाई अक्षरश एवं व्यावसायिक ढङ्गले पूरा गर्न समेत निर्देशन दिएका हुन् ।

उनले सीमा अपराधको जरामा पुगी कारबाही गर्ने र संगठनमा बसेर गलत काम गर्ने कसैलाई छुट छैन भन्ने मूल मर्मकासाथ नेपाल सरकारको सुशासनको नीतिलाई पूर्ण रूपमा आत्मसाथ गर्दै अघि बढ्न जोड कमाण्डर तहका अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

महानिरीक्षक पौडेलले माननीय गृहमन्त्रीको प्रभावकारी कार्यसम्पादन, उपलब्ध स्रोतसाधनको उचित उपयोग र गुनासोरहित नतिजामा आधारित निर्देशनहरूलाई अक्षरस कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले कुनै पनि युनिट वा कार्यालयमा नागरिकको गुनासो आउन नदिने गरी स्रोतसाधनको समुचित परिचालन गर्न र युनिटबाट हुने सम्पूर्ण कामकारबाहीको जिम्मेवारी युनिट प्रमुख स्वयंले लिनुपर्ने स्पष्ट पार्नुहुँदै कमाण्डरले उच्च अनुशासन प्रदर्शन गर्दै तल्लो तहका कर्मचारीहरूका लागि प्रेरणादायी रोल मोडल बनेर प्रस्तुत हुनुपर्ने बताए ।

महानिरीक्षक पौडेलले प्रभावकारी कार्यसम्पादन नै फौजको व्यावसायिकताको मुख्य मापक भएको उल्लेख गर्नहुँदै सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण एवं अवैध चोरी–निकासी र पैठारी नियन्त्रणमा उच्च व्यावसायिक क्षमता प्रदर्शन गर्न निर्देशन दिए ।

यो वा त्यो बहानामा गल्ती गर्ने छुट कसैलाई नभएको स्मरण गराउनुहुँदै महानिरीक्षक पौडेलले भने– ‘मैदानमा लड्न निस्किएको सिपाही हात खडा गरेर पछि हट्दैन हामी सबै राष्ट्रका सिपाही हौँ, पछि हट्ने वा कुनै पनि किसिमको मोलाहिजा गर्ने छुट हामीलाई छैन भन्ने व्यावसायिक अडानका साथ प्राप्त जिम्मेवारी जवाफदेहिताकासाथ पुरा गर्नुहोस् ।’

उनले सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापनको पर्यायका रूपमा स्थापित भइसकेकोले प्रत्येक कमाण्डरहरूले आफ्नो जिम्मेवारी क्षेत्रमा आउन सक्ने सम्भावित जोखिम र चुनौतीहरूको तथ्यगत पहिचानसहितको प्रतिकार्य योजना अनिवार्य हुनुपर्ने बताउनुहुँदै सीमावर्ती क्षेत्रका बासिन्दाहरूसँग नियमित अन्तरक्रिया गरी नागरिकको विश्वास र भरोसा जित्न तथा विपद्का बखत अहोरात्र खटिएर राहत र उद्धारमा जुट्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशित गरे ।

सो कार्यक्रममा नं. १ बराह वाहिनीका मुख्यालय सुनसरीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनिष थापाले सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले दिनुभएको निर्देशनलाई अक्षरस पालन गर्दै सीमा सुरक्षामा हुने अवैध क्रियाकलाप रोक्न निरन्तर लागि रहेको बताए ।

उनले कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका इकाईहरुबाट भए गरेका कामकारवाहीका बारेमा जानकारी गराउनुसाथै मनसुनको समयमा बाढी, पहिरो तथा डुवानमा पर्नसक्ने सम्भावित क्षेत्रको पहिचान गरी सो क्षेत्रमा विपद् उद्धार सामाग्रीसहित सशस्त्र प्रहरी कर्मचारी तयारी हालमा राखिएको बताए ।

कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरुलाई निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपाल नं। १ बराह वाहिनी मुख्यालय मातहतका कमाण्डरहरूलाई उच्च मनोबल, व्यावसायिक इमानदारिता र कडा अनुशासनका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।
असोज १६ गते महानिरीक्षक पौडेलले कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहलाई नागरिकको हित, सीमाको सुरक्षा र जनअपेक्षालाई सर्वोपरि राख्दै जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।

उनले सीमा क्षेत्रमा हुने कुनैपनि प्रकारका गैरकानुनी क्रियाकलाप, अवैध व्यापार तथा तस्करी विरुद्ध खरो रूपमा उत्रिनु पर्ने तथा संगठन लिएको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीति कडाइका साथ कार्यान्वयन गर्न समेत निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले आर्थिक पारदर्शितालाई संगठनको मूल स्तम्भका रूपमा औंल्याउँदै कुनै पनि किसिमको आर्थिक कमजोरीलाई संगठनले कदापि स्वीकार नगर्ने उल्लेख गर्दै फिल्डमा खटिने कमाण्डरहरूले आफ्नो सक्रियता बढाउँदै परिणाममुखी कार्य गर्न र सीमा अपराध नियन्त्रणमा उच्च तत्परता अपनाउन जोड दिएका छन् ।

उनले कुनैपनि सशस्त्र प्रहरी कर्मचारी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुक र संगठनको हितकालागि कार्य गर्नुपर्ने उल्लेख गर्नुहुँदै संगठनको छवि बिगार्ने कार्यमा संलग्न हुने जो कोहि विभागीय कारबाहीको भागिदार हुने समेत स्मरण गराए ।

यसैगरी सीमित स्रोत–साधनको उच्चतम उपयोग गर्दै असीमित र सर्वोत्कृष्ट कार्यसम्पादन गर्न, परिस्थिति अनुसार बल प्रयोग गर्दा पूर्ण संयमता र धैर्यता अपनाउन तथा सर्वसाधारणसँगको समन्वय र सद्भावलाई प्रगाढ बनाउन कमाण्डरहरुलाई उनले निर्देशन दिएका छन् ।

अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा अवकाशप्राप्त कर्मचारीहरूलाई संगठनसँग निरन्तर जोडिराख्ने, उनीहरूको अनुभवलाई संगठनको श्रीवृद्धिमा उपयोग गर्ने र बहालवाला तथा पूर्व सशस्त्र प्रहरी कर्मचारी दुवैको साझा योगदानमार्फत संगठनलाई थप सुदृढ बनाउनेतर्फ केन्द्रित भई कार्य गर्नुपर्ने बताए ।

सो कार्यक्रममा अवकाशप्राप्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हृदय नारायण मण्डल लगायतका पूर्व सशस्त्र प्रहरी कर्मचारीहरूले अवकाश पश्चात पनि आफूहरू सदैव संगठनकै सदस्य रहेको र संगठनप्रतिको निष्ठा अटुट रहने प्रतिबद्धता व्यक्त गरे ।

पूर्व सशस्त्र प्रहरी कर्मचारीहरूका लागि समय–समयमा युनिटहरूमार्फत स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनुपर्ने, नयाँ भर्ना प्रक्रियामा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको सन्ततिहरूका लागि कोटा निर्धारण गरिनुपर्ने, सीपमूलक तालिम सञ्चालन गरिनुपर्ने र लागूऔषध नियन्त्रण जस्ता सामाजिक अभियानमा समेत एकजुट बनाएर लैजानुपर्ने धारणा व्यक्त गरेका थिए ।

सहिदका परिवारसँग भेट

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले कर्तव्य पालनाका सिलसिलामा वीरगती प्राप्त गरेका सशस्त्र प्रहरी कर्मचारीको परिवारसँग भेटघाट गरेका छन् ।

नं. १ बराह वाहिनी मातहत कार्यालयहरुको अवलोकन भ्रमणका क्रममा उहाँल कर्तव्य पालनाको सिलसिलामा तत्कालीन माओवादी विद्रोहीहरुको भिडन्तमा दाङ्ग जिल्लाको धनौरीमा २०६१ साल असार २० गते वीरगती प्राप्त गरेका शहीदका परिवारसँग भेटघाट गरेका हुन् ।

भेटघाटका क्रममा महानिरीक्षक पौडेलले राष्ट्र र संगठनको हक हितका लागि आफ्नो ज्यानको आहुती दिने शहीदप्रति उच्च सम्मान गर्नुकासाथै उनीहरुको परिवारजनमा परेको समस्याको समाधानको लागि संगठन सधै साथमा रहने बताए ।

उनले सहिदको रगत र पसिनाले गर्दा संंगठन आज यहाँसम्म आईपुगेको उल्लेख गर्दै शहीदका घर तथा परिवारमा पर्ने पीर, मर्का तथा समस्या समाधानको लागि नजिकै रहेको सशस्त्र प्रहरी बल नेपालको इकाईहरुमा सम्पर्क गर्न समेत सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?