काठमाडौं । पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको कार्यालय आगामी ४ अक्टोबरदेखि राजधानी लिस्बोनमा सञ्चालनमा आउने भएको छ ।
पोर्चुगलको राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) को तथ्याङ्कअनुसार सन् २०२५ मा पोर्चुगलमा नेपाली नागरिकको संख्या ५६ हजार ८ सय ६६ पुगेको छ । यो पोर्चुगलमा रहेका आप्रवासीमध्ये पाँचौँ ठूलो संख्या हो ।
नेपालीमध्ये ३८ हजार ३ सय ३५ पुरुष र १८ हजार ५ सय ३१ महिला रहेका छन् ।
पोर्चुगलको नागरिकता लिइसकेका नेपाली भने उक्त तथ्याङ्कमा समावेश नभएको जनाइएको छ ।
पोर्चुगलमा नेपालीको संख्या पछिल्ला चार वर्षमा १३६ दशमलव ८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । सन् २०२१ मा २४ हजार १३ जना नेपाली रहेकोमा सन् २०२५ सम्म आइपुग्दा ५६ हजार ८ सय ६६ पुगेका हुन्। चार वर्षको अवधिमा मात्रै ३२ हजार ८ सय ५३ नेपाली थपिएका छन् ।
सन् २०२५ मा पोर्चुगलमा ब्राजिलका ५ लाख ७४ हजार १ सय ९५, एङ्गोलाका १ लाख ३ हजार १ सय ४०, भारतका ९३ हजार ६ सय ८३ र केपभर्डेका ७६ हजार ९९ नागरिकपछि नेपालीको संख्या रहेको छ । त्यसपछि बंगलादेश, गिनी बिसाउ, युक्रेन, साओ टोमे एन्ड प्रिन्सिपे, पाकिस्तानलगायतका नागरिक रहेका छन् ।
सन् २०२५ मा पोर्चुगलमा रहेका कुल आप्रवासीको संख्या १५ लाख ९७ हजार ५ सय ३९ रहेकोमा नेपालीको हिस्सा ३ दशमलव ५५ प्रतिशत रहेको छ । सन् २०२१ मा कुल आप्रवासीमध्ये नेपालीको हिस्सा ३ दशमलव २ प्रतिशत थियो ।
नेपालीको संख्या बढेसँगै पोर्चुगलमा नेपाली संघसंस्थाको संस्थागत उपस्थिति र नेपाल सरकारको कूटनीतिक सक्रियता पनि विस्तार भएको छ । नेपाल सरकारले २०८० सालमा पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्न पहल गरेको थियो । सोही वर्ष मंसिरमा पोर्चुगलले लिस्बोनमा नेपाली दूतावास खोल्न सहमति दिएको थियो। त्यसपछि २०८१ सालमा लिस्बोनमा नेपाली दूतावास स्थापना भएको थियो । सरकारले प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त गरेको थियो ।
यसैबीच, पोर्चुगलले पनि नेपालमा आफ्नो कूटनीतिक उपस्थिति विस्तार गर्न प्रक्रिया अघि बढाएको छ । पोर्चुगलले काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्न नेपाल सरकारसँग सहमति मागेकोमा मन्त्रिपरिषद्ले २०८३ साउन २६ गते काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको थियो । त्यसपछि पोर्चुगलले काउन्सिलर कार्यालयभन्दा माथिल्लो तहको महावाणिज्य दूतावास स्थापना गर्न अनुमति मागेको जनाइएको छ ।
यही बढ्दो नेपाली जनसंख्यालाई मध्यनजर गर्दै एनआरएनए पोर्चुगलले लिस्बोनमा आफ्नो कार्यालय सञ्चालनमा ल्याउन लागेको हो । संघका अनुसार कार्यालयबाट नेपाली समुदायले प्रत्यक्ष रूपमा आवश्यक सूचना, सेवा, सहयोग तथा परामर्श लिन सक्नेछन् ।
कार्यालय अभेनिदा देफेन्सोरेस दे शाभेस नं. ४, १०००–१०९ लिस्बोन मा सञ्चालन हुनेछ । कार्यालय एसआईसीको अगाडि रहेको जनाइएको छ।
एनआरएनए पोर्चुगलले आधिकारिक वेबसाइटसमेत सञ्चालनमा ल्याएको जनाएको छ। वेबसाइटमार्फत नेपाली समुदायले संघका आधिकारिक सूचना, सेवा, सहयोग, कार्यक्रम तथा आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन् ।
आफ्ना जिज्ञासा तथा सेवा र सहयोगसम्बन्धी अनुरोधसमेत वेबसाइटमार्फत पठाउन सकिने व्यवस्था गरिएको संघले जनाएको छ ।
पोर्चुगलमा नेपाली समुदायको संख्या तीव्र रूपमा बढिरहेको अवस्थामा कार्यालय सञ्चालनले त्यहाँ रहेका नेपालीलाई सेवा तथा सूचनामा सहज पहुँच पुर्याउने संघको अपेक्षा छ । एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तान र सचिव सुरज भण्डारीले कार्यालय तथा वेबसाइटबाट उपलब्ध सेवाको उपयोग गर्न पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया