काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू, ३ हजार ५०६ प्रहरी परिचालन हुने

लोकपथ
0
Shares

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना २०८३ लागू गरेको छ । परिसरले शुक्रबारदेखि लागू गरेको सुरक्षा योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने जनाएको छ ।

भद्रकालीस्थित परिसर कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौंका एसएसपी दिलीप घिमिरेले चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि रोकथाम तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न विशेष सुरक्षा योजना लागू गरिएको बताए ।

प्रहरीका अनुसार चाडपर्वका समयमा पटका तथा अतिसबाजी, आगलागी, मदिरा सेवनपछि हुने सवारी दुर्घटना, नक्कली टिकट, यात्रु ठगी, चोरी, पाकेटमारी, जुवातास तथा लंगुरबुर्जा लगायतका गतिविधिको जोखिम हुन्छ । यस्तै पेय पदार्थमा नसालु पदार्थ मिसाउने, नक्कली नोटको कारोबार तथा हत्या लगायतका घटना हुनसक्ने जोखिमलाई समेत ध्यानमा राखिएको छ ।

विशेष सुरक्षा योजनाअन्तर्गत काठमाडौंमा ३ हजार ५०६ प्रहरी परिचालन गरिनेछ । सादा पोशाक र युनिफर्ममा खटिने प्रहरीबाहेक तालुक कार्यालयबाट थप १९० जना प्रहरी परिचालन हुनेछन् ।

धार्मिक तथा संवेदनशील क्षेत्र, मठमन्दिर, न्युरोड, असन लगायतका व्यापारिक तथा भीडभाड हुने स्थान, यातायात काउन्टर, बजार, बैंक तथा वित्तीय क्षेत्रहरूमा प्रहरीको उपस्थिति बढाइनेछ ।

ड्रोन र तालिमप्राप्त कुकुरबाट निगरानी

सुरक्षा योजनाअन्तर्गत ड्रोन र तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिने प्रहरीले जनाएको छ । नाकाहरूमा कुकुर परिचालन गरी विस्फोटक पदार्थ पहिचान तथा स्निफिङ गरिनेछ ।

त्यस्तै, निगरानीका लागि तीन वटा ड्रोन परिसरमा आइसकेका छन् । १ हजार २४२ स्थानमा रहेका सीसीक्यामेराबाट समेत निगरानी गरिनेछ । सामाजिक सञ्जालको निगरानीसँगै काठमाडौंका १० स्थानमा पब्लिक अनाउन्समेन्ट सिस्टम राखिने प्रहरीले जनाएको छ ।

पीपीआई मोडलमा सुरक्षा योजना

काठमाडौं प्रहरीले यसपटकको सुरक्षा योजनामा पीपीआई मोडल लागू गरेको छ । यसमा प्रोमोशनल, प्रिभेन्टिभ, इन्फोर्समेन्ट र इन्नोभेशनलाई समेटिएको छ ।

प्रोमोशनलअन्तर्गत सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा समुदायमार्फत सुरक्षा सन्देश प्रवाह गरिनेछ । प्रिभेन्टिभअन्तर्गत सम्भावित अपराध तथा जोखिम पहिचान गरी गस्ती, निगरानी, चेकजाँच र संवेदनशील क्षेत्रमा प्रहरीको उपस्थिति बढाइनेछ ।

इन्फोर्समेन्टअन्तर्गत कानूनविपरीत गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिएर कानूनी कारबाही गरिनेछ भने इन्नोभेशनअन्तर्गत प्रविधिको प्रयोग बढाएर सुरक्षा व्यवस्था प्रभावकारी बनाइने प्रहरीले जनाएको छ ।

१६६ मोबाइल गस्ती, १३३ स्थानमा चेकप्वाइन्ट

सुरक्षा योजनाअन्तर्गत ९८ स्थानमा एरिया कभर, १६६ वटा मोबाइल गस्ती र ५०८ स्थानमा पिकेट परिचालन गरिनेछ । यस्तै २१० वटा पैदल गस्ती टोली, १५२ मोटरसाइकल क्विक रेस्पोन्स टिम (क्युआरटी) र १४० वटा गाडीसहितको क्युआरटी परिचालन हुनेछन् ।

प्रहरीले १४० स्थानमा कर्डन सर्च, ७० वटा सादा पोशाकको टोली र १३३ स्थानमा चेकप्वाइन्ट सञ्चालन गर्नेछ । ८० वटा मन्दिरमा विशेष सुरक्षा व्यवस्था मिलाइनेछ भने १४८ वटा टिकट काउन्टरमा समेत निगरानी गरिनेछ ।

स्ट्राइकिङ, रिभर्स, सीआरभी, पैदल गस्ती तथा ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङमार्फत सुरक्षा व्यवस्था मिलाइने परिसरले जनाएको छ ।

१२ स्थानमा नागरिक सहायता कक्ष

चाडपर्वमा यात्रु तथा नागरिकलाई सहयोग गर्न काठमाडौंका १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ । बालाजुबाट शुक्रबारदेखि सहायता कक्ष सञ्चालनमा आएको छ ।

कलंकी, बल्खु, कोटेश्वर, जडिबुटी, गौशाला, चाबहिल चोक, गोंगबु बसपार्क, बिजी मल अगाडि, सितापाइला, जोरपाटी, बालाजु बाइपास, बालाजु चोक तथा सुरुङमार्ग–नागढुंगा क्षेत्रमा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?