पर्सा । वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन निर्देशन दिएको छ ।
केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले सबै विद्यालयलाई सातामा दुई दिन बिदा दिन निर्देशन दिएको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा साताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरिएको थियो । सोही व्यवस्थाअनुसार महानगर क्षेत्रका सबै विद्यालयमा शनिबार र आइतबार बिदा अनिवार्य गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए ।
नगर शिक्षा समितिको असोज ५ गतेको निर्णयअनुसार महाशाखाले परिपत्र जारी गर्दै विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न सबै विद्यालयलाई ताकेता गरेको हो ।
महानगरपालिकाले दुई दिन बिदा दिँदा विद्यार्थीको पठनपाठन समय तथा वार्षिक कार्यघण्टामा कमी आउन नदिन विद्यालयले आवश्यक व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।
त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा पाठ्यक्रम विकास केन्द्रबाट जारी निर्देशनअनुसार दैनिक पठनपाठनको समय, वार्षिक शैक्षिक क्यालेन्डर तथा आवश्यक बिदालाई समायोजन गर्न महानगरले विद्यालयहरूलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया