तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकले आर्थिक क्षेत्रसँग सम्बन्धित तीनवटा महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सदनमा प्रस्तुत गरेका ‘कर्मचारी सञ्चय कोष दशौँ संशोधन विधेयक, २०८३’, ‘नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट पहिलो संशोधन विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए ।

सभामुखले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा संसदमा उपस्थित कुनै पनि सदस्यले विरोध जनाएनन् । त्यसपछि तीनवटै विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

विधेयकहरू समितिमा पठाइएसँगै अब सम्बन्धित समितिले तिनका विभिन्न दफामा विस्तृत अध्ययन तथा छलफल गर्नेछ । छलफलपछि समितिले आवश्यक सुझावसहित विधेयकलाई पुनः सदनमा पेस गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?