अध्ययन बिदा लिएर सेवामा नफर्किने त्रिविका शिक्षक-कर्मचारीमाथि कारबाही

लोकपथ
21
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर विदेश गएपछि विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट रकम असुलीलाई तीव्र बनाएको छ ।

त्रिवि रजिष्ट्रार कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा छुट्टाछुट्टै प्रकरणबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुल गरिएको छ ।

अध्ययन बिदा सकिएपछि विश्वविद्यालयमा हाजिर नभएका तथा सेवामा फर्किए पनि अनिवार्य रूपमा पूरा गर्नुपर्ने सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीमाथि रकम असुली प्रक्रिया अघि बढाइएको त्रिविले जनाएको छ ।

नियमअनुसार अध्ययन बिदाका क्रममा विश्वविद्यालयबाट प्राप्त तलब, भत्ता तथा अन्य सुविधामा हर्जाना जोडेर रकम फिर्ता गराउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार त्रिविले अध्ययन बिदाको दुरुपयोग गर्नेहरूबाट रकम असुल गरिरहेको हो ।

त्रिविका अनुसार हालसम्म हिसाब निकालिएका प्रकरणमा मात्रै करिब २१ करोड ५० लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ । थप प्रकरणको विवरण संकलन तथा हिसाब–किताब तयार गर्ने कामसमेत भइरहेको विश्वविद्यालयले जनाएको छ ।

सम्बन्धित शिक्षक तथा कर्मचारी सम्पर्कमा आएपछि उनीहरूको व्यक्तिगत अभिलेख अध्ययन गरी विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम निर्धारण गर्ने र सोहीअनुसार असुली प्रक्रिया अघि बढाइने त्रिविले जनाएको छ ।

विश्वविद्यालयले अध्ययन बिदा सकिएपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई २०८३ साल पुस मसान्तसम्म रजिष्ट्रार कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

तोकिएको समयभित्र सम्पर्क नगरेमा सम्बन्धित व्यक्तिले विश्वविद्यालयसँग गरेको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी प्रक्रिया अघि बढाइने त्रिविले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?