काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने तयारी गरेको छ ।
शनिबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता डा। प्रकाशशरण महतले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार महाधिवेशनको तयारीस्वरूप असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ । एकताको महाधिवेशनका लागि प्रयास गरिए पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको उनले बताए ।
‘एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ । त्यसका लागि सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको छ,’ महतले भने, ‘त्यसैले अहिले आपतकालीन मोडमा तयारी अघि बढाइएको छ ।’
पछिल्ला दिनमा भएको व्यापक वर्षाका कारण केही काममा ढिलाइ भए पनि केन्द्रीय कार्यालयबाट गर्नुपर्ने तयारी अघि बढिरहेको उनले बताए ।
महतका अनुसार निर्वाचन समितिमार्फत निर्वाचन अधिकृतहरू एक–दुई दिनमै जिल्लामा पुग्नेछन् । सम्भव भएसम्म स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचन सम्पन्न गर्ने अनुभव भएका व्यक्तिहरूको सहयोग लिएर अधिवेशन छिटोछरितो रूपमा सम्पन्न गरिनेछ ।
नवीकरण भएका तथा नयाँ प्राप्त क्रियाशील सदस्यहरूको सूची अनलाइनमार्फत जिल्ला हुँदै वडासम्म पठाइने उनले बताए । छुटेका व्यक्तिहरूले आवश्यक प्रक्रिया पूरा गरी असोज १५ गतेभित्र क्रियाशील सदस्यता प्राप्त गर्ने व्यवस्था गरिने उनको भनाइ छ ।
वर्षाका कारण कुनै वडामा असोज १५ गते अधिवेशन सम्पन्न हुन नसके सम्बन्धित निर्वाचन अधिकृतले जिल्ला संयोजन समिति र जिल्ला समितिसँगको सल्लाहमा आवश्यक निर्णय गर्नेछन् । त्यस्ता वडामा स्थानीय परिस्थितिअनुसार असोज १६ वा १७ गतेसम्म अधिवेशन सम्पन्न गर्न सकिने महतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया